दाङको विकासमा नेताहरु विभाजित हुँदाको अवस्था

दाङ जिल्ला विकसित जिल्ला हो । यो जिल्ला अन्य पहाडी र हिमाली जिल्ला भन्दा विकसित जिल्लाका रुपमा गनिन्छ । त्यति मात्रै होईन्, यो जिल्ला देशमा विकसित जिल्ला मध्ये औलामा गनिने जिल्ला हो । तर, यही जिल्लामा अझै पनि विकास पुगेको छैन । किनकी विकास निरन्तर भइरहने प्रक्रिया हो । पहाडी जिल्लामा अझै पनि कच्ची सडक पुगिरहेको छैन । त्यहाँ कच्ची सडककै माग छ । तर, दाङ जिल्लाका एक सय वडा मध्ये लगभग ८० जति वडाहरुमा पक्की सडक छ । केही बाँकी वडाहरुमा पनि पक्की सडक पुग्ने अबस्थामै छ । तर, दाङमा विकास चाहिएकै छ । जुन सरकार आएपनि जनताको एउटै माग हुन्छ, विकास । तर, त्यो विकास आवश्यकता अनुसार हुन्छ ।

सबै भन्दा पहिले सडक, त्यसपछि विद्युत मुख्य विकासका माग हुन् । त्यसपछि सञ्चारको पनि अति आवश्यकता हुन्छ, त्यो पनि त्यतिकै माग हुन्छ । तर, यी तीन वटै कुरा पुगेपनि विकास भने पूरा हुँदैन । किनकी विकास क्रमिक रुपमा चलिरहने प्रक्रिया हो । यो कहिल्यै पनि पूरा हुँदैन् । त्यो कुरा सहजै आम नागरिकले बुझ्न सक्दैनन् । किनकी गाउँमा कल्भर्ट भत्कियो, खानेपानीको पाईप फुट्यो भने पनि सरकार नै चाहिन्छ । किनकी जनताको त्यो अति अपरिहार्य कुरा पनि हो । तर, नागरिक आफैले गर्न सक्ने काम पनि गर्न नखोज्नुमा त्यो पनि समस्याको रुपमा होला । तर, साँझ, विहान मिठो खान नपाएमा छोराले दोष लगाउने भनेको वुवा, आमालाई नै हो । नागरिकको आमा,वुवा भनेको सरकार नै हो । सरकारसंग माग गर्ने कुरा स्वभाविक पनि हो, त्यसलाई अन्यथा लिनु हुँदैन । र, छोराहरुलाई आत्मनिर्भर बनाउने दायित्व पनि आमा,वुवाकै हो । यदि गाउँ, समाजमा सामान्य नागरिकहरु खटेर समाधान गर्न सक्छन्, भने त्यसलाई नागरिकले नै गर्न सक्नुपर्छ,भन्ने कुराको समाधान दिने कार्य पनि सरकारले नै भुमिका खेल्नु पर्छ । यो कुरा छोराछोरीले आफै बुझ्ने कुरा हो, यदि नबुझे अभिभावकले पनि बाटो देखाउने कुरामा ध्यान दिनुपर्छ ।


तर, अहिले आमा,वुवामै खटपट हुँदा साना विकास होईन्, ठूला विकासहरुमा असहज अबस्था छ । दाङकै सन्भर्दमा टरिगाउँ एयरपोर्टका कुरा गर्दा,दाङका ठूला राजनीतिक दलका प्रमुख नेतृत्वबीच एकता नहुँदा ओझेलमा परेको छ । हवाई सेवा नियमित हुन सकेको छैन । त्यति मात्रै होईन्, एउटाले विकास गर्न खोज्दा, अर्को बाधक बन्न खोज्छ । एउटाले बजेट हाल्ने, अर्कोले बजेट रोक्न खोज्ने अबस्था विगतदेखि चल्दै आएको अबस्था हो । यो एउटा प्रतिनिधि घटना मात्रै होईन्, जिल्लाका यस्ता थुप्रै विकासमा अबरोध गर्ने जिल्लाका ठूला भनिएका नेतृत्वको नै छ । एउटाले गर्न खोजिरहेको हुन्छ, अर्कोले अबरोध गरिरहेको हुन्छ । जिल्लामा ठूला–ठूला नेतृत्व हुँदा पनि एकमत नहुँदा यसले जिल्लाकालागि ठूलै समस्या निम्त्याईरहेको छ। यस विषयमा जिल्लाबासी जागरुक नहुँने हो, भने भोलिका दिनमा निकै समस्या भोग्नु पर्ने अबस्था हुन सक्छ, यस तर्फ ध्यान दिन आवश्यक छ । साभारः अग्रिम साप्ताहिक