टरिगाउँ एयरपोर्टमा जिम्मेवार नेताका षडयन्त्र

दाङको टरिगाउँ एयरपोर्ट एउटा राजनीति गर्ने थलो बनेको छ । नेपालको पुरानो मध्येको एउटा एयरपोर्ट टरिगाउँ हो । जुन २००८ सालमा स्थापना भएको हो । तर, २०११ सालदेखि मात्रै उक्त एयरपोर्ट सञ्चालनमा आएको हो । जुन एयरपोर्ट सञ्चालनमा ल्याउनकालागि तुलसीपुरवासीले ठूलो संघर्ष गर्नुपरेको थियो । सञ्चालनमा आएपनि त्यो एयरपोर्ट नियमित हुन सकेको छैन । कहिले चल्ने र पुनः बन्द हुने क्रम चलिरहेको छ । पटक–पटक खुसीका दमाहहरु बज्ने र पुनः दुःखका शंखहरु बजाउनु पर्ने अबस्था टरिगाउँ एयरपोर्टमा छ । तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालमा नयाँ जनप्रतिनिधिहरु आएपछि केही समय नियमित बनेको अबस्था थियो । तर, पुनः त्यो एयरपोर्ट अनियमित हुने हो की भन्ने चिन्ता पैदा भएको छ । कुनै समय प्रत्येक दिन हवाई सेवा सञ्चालन हुन्थ्यो । पछिल्लो समय हप्तामा पाँच दिन पछि पुनः प्रत्येक दिन हवाई सेवा सञ्चालन हुने गरेको थियो । तर, अहिले त्यो सेवा कटौटी भएको छ । अहिले हप्तामा तीन दिन मात्रै हवाई सेवा सञ्चालन भइरहेको छ । यसले यहाँको हवाई सेवामा थप शंका पैदा गरेको छ । केही दिन अघि मात्रै नेपाल आयल निगमले तुलसीपुर एयरपोर्टमा आएको बाउजर लैजाने तयारी गरिएकाले पनि थप शंका पैदा गरेको छ । यद्यपी तुलसीपुरका जनप्रतिनिधि र स्थानीयको सक्रियतामा बाउजर लिन भने दिइएन । त्यसपछि अहिले त्यो बाउजर टरिगाउँ एयरपोर्टमै छ ।

तुलसीपुरमा दैनिक एक पटक मात्रै जहाज बस्ने र त्यो पनि सानो बस्ने भएकाले पनि यहाँको ठूलो बाउजर लिएर सानो बाउजर पठाउने गरि तयारी गरिएको थियो । यहाँ सानो बाउजरले पनि काम चल्ने आयल निगमको ठम्म्याई थियो । त्यही अनुसार बाउजर लैजान टोली आएपनि त्यो तुलसीपुरबासीले स्वीकार गरेनन् । त्यो अस्वीकार यस क्षेत्रका नागरिकको असन्तुष्टी मात्रै होइन्, विद्रोह पनि हो । केही दिन अघि मात्रै एमालेका प्रभाबशाली राष्ट्रिय नेता तथा महासचिब शंकर पोखरेलले टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारकालागि प्राबिधिकहरुले सम्भव नभएको भनि प्रतिवेदन तयार पारेकाले विस्तार सम्भव नभए विकल्प खोज्नु पर्ने पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका थिए । त्यो प्रतिक्रियाले तुलसीपुरवासीलाई दुःखी तुल्याएको थियो । पोखरेलको तुलसीपुरकालागि बैकल्पिक विमानस्थल खोजी गर्ने कुरा यो नै पहिलो भने होईन् । तत्कालिन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नै शंकर पोखरेलको भाषा बोलेका थिए । उनले तुलसीपुरको टरिगाउँ एयरपोर्टलाई सिकाई केन्द्रका रुपमा विकास गर्ने र नारायणपुर एयरपोर्टलाई अन्तराष्ट्रिय एयरपोर्टका रुपमा विकास गर्ने भनि आफ्नो कार्यकालमा नीति नै ल्याएका थिए । यसले पनि एमालेले तुलसीपुरको एयरपोर्टलाई विस्तार भन्दा पनि यसलाई यथास्थितिमा कायम राख्ने र अर्को स्थानमा विमानस्थल निर्माण गर्नुपर्ने कुरालाई जोड दिएको प्रष्ट छ ।


टरिगाउँ एयरपोर्ट विस्तार गर्ने प्रसस्त सम्भावना छन् । त्यहाँ सरकारी जग्गा पनि छ । त्यसलाई ब्यबस्थापन गरेमा एयरपोर्टको अहिलेको धावनमार्ग ७५० मिटर लम्बाईलाई बढाएर १३०० मिटरसम्म बनाउन सकिन्छ । १३०० मिटर भन्दा बढि बनाएमा त्यहाँ ठूला जहाज बस्नेछन्, र, हवाई भाडा पनि कम हुने छ, भने एकैपटक धेरै यात्रुलाई सेवा दिन सहज हुनेछ । यो हवाई सेवा दाङकालागि मात्रै होईन्, साविक राप्तीका नागरिकलाई पनि हो । त्यसैले यो एयरपोर्टको हवाई मार्ग स्तरबृद्धिमा ख्याल गरौं । जिम्मेवार नेताबाट बैकल्पिक एयरपोर्ट बनाउने कुरा नआओस् । यसले यहाँका जनताको मर्म र भावना कुल्चिएको छ । त्यसैले निराशाका होईन्, आशा र भरोसाका कुरा गरौं, त्यसैमा नै दंगालीको भलो हुन्छ । साभार :अग्रिम साप्ताहिक