
पछिल्लो समय दाङमा सवारी दुर्घटनाको दर बढिरहेको छ । दैनिकजसो दुर्घटना भइरहेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै ४७ जनाको मृत्यु भइरहेको छ । सयौं दुर्घटना भएका छन् । सय भन्दा बढि घाइते भएका छन् । विगत भन्दा दाङमा यस वर्ष दुर्घटना झनै बढिरहेका छन् । यसमा मुख्य कारण सडक सन्जाल नै छ । ४०/५० बर्ष अघि बनेका सडकको स्तरबृद्धि हुन सकेको अवस्था छैन । त्यतिबेला जस्ता सडक थिए, अहिले पनि त्यस्तै छन् । ति सडक चौडा गर्ने कुरा हुन सकेको छैन । तर, दिनानुदिन जिल्लामा सवारी साधनको संख्या भने बढिरहेको छ । अहिले जिल्लामा ४० हजार भन्दा बढि सवारी दर्ता छन् । ति सबै सवारी यही सडकमा चलिरहेको अबस्था छ । त्यसले गर्दा अहिले सवारीको चाप एकदमै बढि हुन्छ ।
साँघुरा सडक तर, सवारी धेरै हुँदा नै दुर्घटना भइरहेका छन् । अहिले बजार भित्रका सडकमा निकै ब्यस्त हुनेगर्छ। त्यस्तै घोराही–तुलसीपुर सडक पनि चारलेन बन्न सकेको छैन । बीचमै काम अलपत्र अवस्थामा छ । चार लेन नहुँदासम्म यो सडकमा दुर्घटनाको जोखिम कायमै रहिरहन्छ । दुर्घटनाको अर्को कारण चालकको लापरवाही पनि उत्तिकै छ । तिब्र गतिमा सवारी चलाउँदा पनि दुर्घटना बढिरहेका छन्, भने सवारीको अवस्था जाँच पनि हुँदैन । जिल्लामा त्यो संयन्त्र भएपनि सवारी जाँचको अवस्था प्रभावकारी हुन सकेको अवस्था छैन । जसले गर्दा एकदमै पुराना, कन्डिसन भन्दा बाहिर गएका सवारी साधनहरु पनि सडकमा चलिरहेका छन्, त्यसले गर्दा पनि दुर्घटना बढाई रहेको छ ।
यसरी दुर्घटना बढिरहे पनि जिल्लामा ट्राफिक प्रहरीको दरबन्दी पनि न्यून छ । जिल्लामा जम्मा ३१ जनाको दरबन्दी छ । त्यो २०६१ सालमा कायम भएको दरबन्दी हो । काजमा गरेर ६० जनाजति ट्राफिक कार्यरत भएपनि त्यो संख्या अप्रयाप्त हो । सानो जनशक्तिले सवारी साधनको अनुगमन, जाँच गर्न निकै कठीन पनि हुने गर्छ, यस तर्फ पनि ध्यान दिन सकेमा अहिले भइरहेका दुर्घटनामा कमी ल्याउन सकिन्छ । यस्ता कुराहरुमा ध्यान दिन सक्नु पर्छ, अनि मात्रै जिल्लामा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सकिन्छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ८ माघ २०८१, मंगलवार १९:४७ बजे