गोरखाका विद्यार्थीले बनाए ढिक्रीदेखि घुँङीसम्म

तुलसीपुर, ५ माघ । कोही ढिक्री बनाउँदै थिए, कोही दुना टपरी गाँस्दै थिए, त कोही घुँगी र अचार बनाउँदै थिए । गोरखा माध्यामिक विद्यालय तुलसीपुर ६ मा व्यबस्थापन संकाय कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले शनिबार तुलसीपुर ७ कालाखोलाको बुढागाउँको थारु बस्तीमा यस्तै कार्य गरिरहेका थिए ।

उनीहरुले थारु समुदायको संस्कार, संस्कृति, रितिरिवाज,खानपिनका बारेमा जानकारी लिन यस्तो कार्य गरेका हुन् ।“थारु संस्कार, संस्कृतिका बारेमा मलाई थाहा थिएन, मेरो घर सल्यान हो”, विद्यार्थी सन्तोष खड्काले भने “अहिले यहाँ आएर थारु समुदायका बारेमा धेरै कुरा जान्न पाएँ ।”

विद्यार्थीले सबै समुदायका बारेमा जानकारी लिनुपर्ने भन्दै आफूहरुले यस्तो कार्य गरेको उनको भनाई थियो । किताबी ज्ञानले मात्रै धेरै कुरा थाहा नहुँने भन्दै यसरी समाजमै जाँदा त्यो समुदायसंग पनि घुलमिल हुने विद्यार्थी सोभित बस्नेतले बताए ।“किताबबाट त जानकारी हुन्छ, तर, घुलमिल हुँदैन”,उनले भने “त्यसैले घुलमिल गर्न यस्ता कार्यक्रम निरन्तर गर्नुपर्छ ।”

पढाईकालागि मात्रै पढाई नभइ सिक्नकालागि पढाई हुनुपर्ने भन्दै प्रयोगात्मक कार्य पनि उपलब्धी मुलक हुनुपर्ने विद्यार्थी पुष्पा केसीको भनाई छ ।


सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा अन्तर्गत विद्यार्थीहरुले थारु समुदायको खानपिन, संस्कार, संस्कृति,पोशाकलगायतका विषयमा जानकारी लिनु सकारात्मक कार्य रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जीसीले बताए ।“विद्यार्थी गाउँमै आएर त्यो गाउँको अबस्थाका बारेमा जानकारी लिनु राम्रो कुरा हो”,उनले भने “यसले सामाजिक एकताको सन्देश दिन्छ ।”

विद्यर्थीहरुले आफै थारु समुदायको परिकार ढिक्री, घुँङी, अचार, दुना टपरी निर्माण गर्न सिक्नुकासाथै थारु समुदायले माघीमा नाच्ने नाच पनि नाचेका थिए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई बिभिन्न क्रियाकलाप गराउने गरेको ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले बताए । उनले विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्रै नपुग्ने भन्दै अतिरिक्त क्रियाकलापमा जोड दिने गरेको उनको भनाई थियो ।

कार्यक्रममा मावि कालाखोलाका प्रधानाध्यापक राजीव ओझा, थारु अगुवा भरत चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । विद्यालयका विज्ञान संकाय संयोजक विष्णु भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण ब्यबस्थापन संकाय प्रमुख डम्बर डाँगीले गरेका थिए ।