धानमा रोग लागेपछि किसान चिन्तित

अन्जना बिश्वकर्मा
दाङ, १६ असोज ।
फल्ने समयमा धानमा रोग लागेपछि दाङका किसानहरू चिन्तित बनेका छन् । किराले पसाउने बेलामा बाला टुक्रा–टुक्रा बनाइदिने गरेको किसानहरूको गुनासो छ ।“ पहिले गुबेरु किरो लाग्यो । अहिले बालालाई काटेर टुक्रा–टुक्रा बनाउने रोग आएको छ”, तुलसीपुर ७ निवासी किसान भागिरथ भण्डारीले भने ।

उक्त किरा साँझ, विहान मात्रै देखिने गरेको छ । समयमा मल र बिउ नपाउँदा आजित भएका किसानहरू पटक–पटक रोग लाग्दा चिन्तित बन्ने गरेका छन् ।

किरा लागेपछि २/३ पटक औषधी पनि छिटिएको थियो । तर, पनि त्यसले काम नगरेको तुलसीपुर ७ निवासी किसान धनिराम भुषालले गुनासो गरे । एग्रोभेटबाट औषधी ल्याएर छिटेको उहाँको भनाई छ । यदि किरालाई नियन्त्रण गर्न नसकिएमा धान उत्पादनमा गिरावट आउने उनले बताए ।


अहिले वर्षा रोकिएपछि धानमा यस्तो समस्या देखिएको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखाका कृषि प्राविधिक रवि न्यौपानेले बताए ।“सुरुमा खासै थिएन”,उनले भने “बीचमा वर्षाद रोकिएपछि रोग देखा परेको हो ।”

धानमा पातको फेद डडुवा, फड्के किराजस्ता समस्या देखिएको उनको भनाई छ । किसानहरूले पनि नियमित फलोअप नगर्दा समस्या भएको उनको भनाई छ । अहिले उक्त रोग नियन्त्रण गर्नकालागि रासायनिक विषादीको सिफारिश गरेको र किसानहरूले त्यही अनुसार प्रयोग गर्ने गरेको उनको भनाई छ । दाङका सबै जसो ठाउँमा यस्तो समस्या देखिएको उनले बताए । साभारः अग्रिम साप्ताहिक