
काठमाडौं, ३ माघ ।
गाजामा युद्धविराम घोषणा भएपछि इजरेलले गरेका हवाई हमलाहरूमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको हमासले सञ्चालन गरेको नागरिक प्रतिरक्षा निकायले जनाएको छ। मृतकमध्ये १९ बालबालिका र २४ महिला भएको उक्त निकायको दाबी छ। इजरेलले यसबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन।
यसअघि इजरेली प्रधानमन्त्रीले हमासले युद्धविराम सम्झौता पालना गर्न नखोजेको आरोप लगाएका थिए। तर हमासले आफू युद्धविराम सम्झौताका सबै सर्त लागु गर्न प्रतिबद्ध भएको जनाएको छ। लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति सँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेका बेला हमला भएको हो ।
सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन्।



लाइभदाङ । ३ माघ २०८१, बिहीबार १९:३६ बजे