श्रम र सिपलाई सम्मान गर्नुपर्छ : रसाईली

तुलसीपुर, १५ पुस ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सविधान सभा सदस्य प्रकाश रसाईली(स्नेही)ले श्रम र सिपलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले आज (सोमवार) तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाले सुनचाँदी पेशा सम्मानित पेशा भएपनि त्यसो हुन नसकेको बताउनु भएको छ ।

सुनचाँदीका गरगहना बनाउनलाई सिप र श्रम चाहिने भन्दै यो पेशालाई सम्मानित ,मर्यादित , व्यवसायीक र व्यवस्थित गर्न सरकारले आबश्यक कानुन संसोधन गर्नुपर्ने उहाले बताउनु भएको छ । यसका लागी आफुले आबश्यक सहयोग गर्ने उहाले प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेता रसाईलीले सम्मानित पेशा भएपनि फितलो कानुनका कारण व्यवसाय सुरक्षित र मर्यादित हुन नसकेको भन्दै ऐन संसोधनका व्यवसायी संगठनले जोडदार आवाज उठाउनु पर्ने बताउनु भएको छ ।


संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्यहरु लोक बहादुर स्वर्णकार, मदन केसी र तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरका सल्लाहकार मिनराज वलीले सुनचाँदी व्यवसायीका मुद्धालाई राज्यले गम्भिर रुपमा लिनु पर्ने बताउनु भएको छ ।

राज्यले सुनचाँदी व्यवसायीका निम्ति ठोस निति नबनाउदा विभिन्न समस्याहरु झेल्नु परेको बताउदै उनीहरुले यस प्रति राज्यले आबश्यक निति बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण संघका सचिव लोक बहादुर सवश्वकर्माले गर्नुभएको थियो ।