माओवादी केन्द्र राप्ती–८ को अध्यक्षमा कमला शर्मा निर्विरोध निर्वाचित

भालुबाङ, ५ पुस।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका वडा नम्बर ८ को तेस्रो अधिवेशनबाट कमला शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न अधिवेशनले शर्मा सहित अन्य पदाधिकारी र सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो।

उपाध्यक्षमा दामोदर चौधरी ‘माइकल’, सचिवमा रामकृष्ण सुन्दास, सह–सचिवमा रमेश चौधरी र कोषाध्यक्षमा गीरा सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ।

यसैगरी सदस्यहरूमा मीना दर्लामी मगर, आशा चौधरी, अनिल चौधरी, बिनिता चौधरी, इन्द्र शर्मा, चैन बहादुर चौधरी, श्रीप्रसाद चौधरी, पार्वती चौधरी लगायतका निर्विरोध चयन हुनुभएको छ।

वडा कमिटीका अध्यक्ष मञ्जु विष्टको अध्यक्षता तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष लुमाकान्त न्यौपाने ‘सागर’को प्रमुख आतिथ्यता र प्रदेश सचिव कृष्ण अधिकारी ‘प्रकाश’को विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि लुमाकान्त न्यौपाने ‘सागर’ले माओवादी केन्द्रका सदस्यहरू अरू पार्टीका भन्दा फरक हुनु आवश्यक रहेको बताउनुभयो।


उपाध्यक्ष न्यौपानेले माओवादी केन्द्र कुनै व्यक्ति वा पदका लागि नभई श्रमजीवी वर्गहरूको न्याय, समता र अधिकारका लागि अगाडि बढेको पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले जनताले उपचुनावमा माओवादीलाई पुनः विश्वास गरेको स्मरण गर्दै यो विश्वासलाई अझै मजबुत बनाउन सबैलाई आग्रह गर्नुभयो।

विशिष्ट अतिथि प्रदेश सचिव कृष्ण अधिकारी ‘प्रकाश’ले पार्टीले केही समय चुनौतीहरू सामना गरे पनि अब सच्चिएर जनताको साथमा अघि बढिरहेको बताउनुभयो।

पार्टी सच्चिनु भनेको समाजका सबै वर्गको समृद्धिका लागि अघि बढ्नु रहेको बताउदै सचिव अधिकारीले विगतका कमजोरीहरूबाट पाठ सिक्दै अबको दिनमा जनताको अपेक्षाअनुसार परिणाम दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य प्रकाश विष्टले माओवादी केन्द्र जनताको पार्टी भएकाले सधैं विकास र परिवर्तनको पक्षमा काम गर्नुपर्ने बताउनुभयो।

अधिवेशनमा पार्टीका गाउँकमिटी उपाध्यक्ष रण बहादुर पुजाली ‘राजेन्द्र’, तुला गिरी,सचिव बसन्त नेपाली, कोषाध्यक्ष जगत थापा लगायत जनवर्गीय संगठनका पदाधिकारी तथा स्थानीय पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।