कोदोको ढिडो पाउँदा‘मेयर’ मख्ख

दाङ,१६ पुस।
घरमा कहिले काही मकैको पिठोको ढिडो पाक्छ, हप्तामा १/२ दिन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले ढिडो खान पाउछन् । तर, कोदोको ढिलो भने विरलै खाएका छन् । राजनीतिककै सिलशिलामा कहिले काही रोल्पामा कोदोको ढिडो खान पाउने खड्काले तुलसीपुरमै कोदोको ढिडो पाउँदा आश्चार्य चकित बने ।‘घरमा त प्रायः ढिडो खाईन्छ, तर, कोदोको ढिडो मेरा लागी नौलो जस्तै हो’,उनले भने‘ रोल्पा हुँदा कहिलेकाही खाने अबसर मिल्थ्यो ।’

तुलसीपुर – ६ स्थित कुमाख कलेजका विद्यार्थीहरुले यो अवसर जुराए । पर्यटन तथा हस्पिटालिटी म्यानेजमेन्ट बिषयमा डिप्लोमा फर प्रोफेशनल कुकरी अध्ययनरत विद्यार्थीहरुले कोदोको ढिडो,सिस्नुको झोल, कलिको अचार, काँचो मेवाको अचारसहित सातु र मोही बनाएर पर्दशनीमा राखे, भने अतिथिहरुलाई पनि खुवाए ।

उनीहरुले भुटेको जुनेली मकै, खुर्मा, खुट्टाको झोल, साधेको कुखुराको मासु, माटे र राप, गाजर, मुला, मेवा, तरभुजा पनि पर्दशनीमा राखेका थिए । उनीहरुको एउटै उद्देश्य थियो–रैथाने खानाको संरक्षण ।

यसरी नेपाली खाना खुवाउनु तुलसीपुरकालागि राम्रो अभ्यास भएको प्रमुख खड्काको भनाई थियो ।


यस्तो खाना खुवाउने कार्यलाई निरन्तरता दिन पनि खड्काले सुझाब दिए ।‘रैथाने खाना कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, यो हाम्रो स्वास्थ्यसंग जोडिएको कुरा पनि हो’,उनले भने‘हाम्रो पहिचानसंग पनि जोडिन्छ ।’ परम्परागत रुपमा जुन खाना खाईन्थ्यो ति सबै खानाका प्रकारहरुलाई बजारीकरण गर्नु अहिलेको आबश्यकता रहेको उनको भनाई थियो ।

उनले दाङमा उत्पादन हुने रैथानजातको मकै,कोदो,फापर,सिस्नो,पुदिना,टिमुर,भटमास,भाँगो,सिलिङ,चिउरीलगायतका विभिन्न जातको अन्न बालीसहित दहि,महि,घियु जस्ता परिकारहरुलाई प्रोत्साहन हुने गरि प्रबद्र्धन कार्यमा लाग्न गर्न सुझाव दिए ।

रैथाने खाना स्वास्थ्यकालागि पनि उपयुक्त हुने भन्दै यो खानालाई प्रोत्साहन गर्नकालागि यस्तो कार्यक्रम राखिएको कलेज प्रमुख तुफान केसीले बताए ।‘पछिल्लो समय रैथाने खाना लोप हुन थाल्यो, मान्छेहरु रैथाने खाना विर्सिन थाले’,उनले भने‘तर, यो खाना निकै स्वास्थ्यबद्र्धक भएकाले यो खाना खानुपर्छ, भनि प्रोत्साहन गर्न यो कार्यक्रम गरिएको हो ।’ कुमाख क्याफे पनि सञ्चालनमा रहेकाले यस्तो खाना अर्डर अनुसार बनाउँदै आएको उनले बताए ।

अर्को तर्फ कुक अध्ययन गरिरहेका विद्यार्थीहरुको प्रयोगात्मकका रुपमा पनि यसलाई लिइएको उनले बताए ।‘बिदेशी खाना बनाउन सबैले सिकाउनु हुन्छ’,उनले भने‘तर, नेपाली खान जो लोप हुने अबस्थामा छ, यो खानालाई कसैले पनि बनाउन सिकाउँदैन, त्यसैले हामीले यो खाना बनाउन सिकाएका हौं ।’ कलेजमा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको यो पहिलो कार्यक्रम हो । विद्यार्थीहरुले बिभिन्न ९ वटा रैथाने खाना बनाएका थिए ।