
दीपक बोहरा
दाङ,२४ मङ्सिर ।
तुलसीपुरमा पछिल्लो एक हप्तामा दुई वटा सिनेमा हल निर्माण सुरु भएको छ । पछिल्लो केही बर्ष यता साविकको राप्ती अञ्चलको सदरमुकाम समेत रहेको तुलसीपुरमा सिनेमाहल शून्य थियो । दुई वटा सिनेमाहल बन्द भएका थिए । तर, पछिल्लो समय तुलसीपुरमा सुविधासम्पन्न आधुनिक सिनेमाहल निर्माण कार्य सुरु भएका छन् । गएको १९ मंसिरमा दाङको नारायणपुरमा रहेको भिएफएक्स सिनेमा हलले निर्माण कार्य सुरु गरेको थियो ।
नारायणपुर जस्तै सुविधा सम्पन्न हल बनाउने र उच्चस्तरीय प्रविधि जडान गरिने, भिडियो क्वालिटि र साउन्ड सिस्टम पनि उच्चस्तरीय हुने गरि हल निर्माण थालिएको निर्माण कम्पनी सिनेमा वल्र्डका अध्यक्ष अरुण रिजालले बताए । तुलसीपुर ६ मा रहेको कराई इभेन्टसंगै सटेको जग्गामा हल निर्माण सुरु गरिएको हो । दुईवटा पर्दामा ५ सय सिट क्षमताको हल सञ्चालन गरिने छ । आगामी २०८३ को दशैबाट फिल्म प्रदर्शन गरिने लक्ष्य रहेको उनले बताए ।
त्यसको चार दिन पछि मंगलबार मात्रै तुलसीपुर–६ को बरुवागाउँस्थित गोरखा सेकेन्डरी स्कुलको छेउमा क्युएफएक्स सिनेमा हलको निर्माण सुरु गरिएको छ । अनिल बुढाथोकी र वसन्त लम्सालले संयुक्त रुपमा करिब २२ करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण सुरु गरेका हुन् । उनीहरुले पनि आगामी दशैमा हिनेमा हल सञ्चालन गर्ने लक्ष्य राखेका छन् । तुलसीपुरमा आधुनिक सिनेमाहल नहुँदा नारायाणपुर, घोराही जानुपर्ने अबस्था थियो । तर, अब तुलसीपुरमै हेर्न पाउने दर्शको अपेक्षा छ ।



लाइभदाङ । २५ मंसिर २०८२, बुधबार १३:१८ बजे