राप्तीमा निः शुल्क आँखा शिविर : २ हजार जनाको आँखा जाँच २ सय बढीको मोतीबिन्दुको शल्यक्रिया

तुल बहादुर कवँर मगर
सिसहनियाँ, ५ मंसिर ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको तिलगंगा सर्जिकल आँखा केन्द्रको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा २ हजार ११ जनाको आँखा जाँच गरिएको छ भने २ सय ५ जना मोतीबिन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनियाँको आयोजना तथा राप्ती गाउँपालिका दाङको समन्वयमा सञ्चालित सो शिविरमा उनीहरूको आँखा जाँच तथा शल्यक्रिया गरिएको हो।

गत कार्तिक २३ गतेदेखि २८ गते सम्म राप्ती गाउँपालिका दाङ सँगै गढवा गाउँपालिका, प्युठानको सरुमारानी, बाँकेको राप्ती सोनारी र कपिलवस्तुको बिजयनगर गाउँपालिकाका विभिन्न १३ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविर बाट २ सय ७५ जना मोतिबिन्दु भएका आँखाका बिरामीहरु छनोट भएका थिए।त्यसमध्ये मंसिर ३ र ४ गते दुई दिन सम्म सञ्चालन भएको शिविरमा २ सय ५ जनाको निःशुल्क शल्यक्रिया गरिएको आँखा केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बहादुर बिसीले जानकारी दिनुभयो ।


तिलगंगा आँखा अस्पताल काठमाडौंका नेत्र अधिकृत सरोज देवकोटाको नेतृत्वमा नेत्र रोग विशेषज्ञ डाक्टर दिप्ती प्रधान ,डाक्टर आशिष जम्मरकट्टेल,डाक्टर समिरा व्यन्जनकार लगायतका प्राविधिकहरुको टोलीले बिरामीहरुको आँखाको जाँच तथा शल्यक्रिया गर्नु भएको इन्चार्ज बिसीले जानकारी दिनुभयो ।

राप्ती गाँउपालिकाका अध्यक्ष प्रकाश विष्टको विशेष पहल तथा तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौंको सहयोगमा सिसहनियाँ स्वास्थ्य चौकी भित्र रहेको एक भवनबाट सेवा प्रदान गर्दै आइरहेको आँखा केन्द्रले स्थापना भएको डेढ वर्षको अवधिमा १३ हजारभन्दा बढी आँखाका बिरामीहरुको निःशुल्क आँखा जाँच गर्नुका साथै १२ सय बढी मोतीबिन्दु भएका आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरि सकेको छ।