सेवक कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न

तुल बहादुर कवँर मगर
सिसहनियाँ, ४ मंसिर ।
सेवक कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ७ बड्का सिसहनियाँको १३औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष सुविता चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा गाउँपालिकाकी उपाध्यक्ष चौधरीले नेपाल जस्तो विकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्न आग्रह गर्नुभयो।

सहकारी क्षेत्रलाई व्यवस्थित, मर्यादित र थप विश्वसनिय बनाउन आवश्यक रहेको चर्चा गर्दै उपाध्यक्ष चौधरीले सहकारी मार्फत मजदुरवर्गको गरिबी निवारण गर्न सकिने उल्लेख गर्नुभयो।


‘एक घर एक सहकारी सदस्य,एक घर एक सदस्य रोजगारी’ भन्ने मुल नाराका साथ सम्पन्न साधारणसभामा संस्थाकी अध्यक्ष सुविता चौधरीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष लक्ष्मी कुमारी चौधरीले आर्थिक प्रगति प्रतिवेदन र सचिव सुलोचना चौधरीले संस्थाको प्रस्तावित वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभामा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरी,वडा नम्बर ७ कि वडा सदस्य उमा परियार,मुक्त कम्लहरी विकास मञ्चकि प्रतिनिधि निमा चौधरी,शेयर सदस्य इन्द्र चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। संस्थाकी उपाध्यक्ष सुनिता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक अमिता चौधरीले गर्नु भएको थियो ।