दाङ, २५ कार्तिक ।
दाङमा नियम विपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले ठाउँका ठाउँ कारवाही गर्न थालेको छ । ट्राफिक प्रहरीले लाइसेन्स विना सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने, हेल्मेट नलगाएर मोटरसाइकल चलाउने, गलत लेनमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, मोबाइल फोनको प्रयोग गर्दै सवारी चलाउने लगायतका गतिविधिमा संलग्न चालकलाई भटाभट कारवाही गर्न थालेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख राजेश शाहीका अनुसार चालु वर्षको तीन महिनामा पाँच हजारभन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साउन, भदौ र असोज तीन महिनामा ५ हजार २५ सवारी साधन कारवाहीबाट ५१ लाख ५ हजार भन्दा बढी राजस्व संकलन भएको छ ।
प्रहरीका अनुसार साउनमा २ हजार १७७ सवारी कारवाहीबाट २० लाख २५ हजार ५०७ राजश्व संकलन भएको छ । यस्तै भदौ महिनामा १ हजार ४८१ सवारी कारवाहीबाट १६ लाख ४८ हजार र असोज महिनामा १ हजार ३६७ सवारी कारवाहीबाट १४ लाख ५९ हजार ५०१ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । नियम विपरित चल्ने सवारी साधानमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् ।
ट्राफिक प्रहरीका अनुसार तीन महिनाको अवधिमा १ हजार ३९६ मोटरसाइक चालकलाई कारवाही गरिएको छ । यस्तै दोस्रोमा अटो रिक्सा रहेका छन् । साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा ९ सय २१ अटो रिक्सा कारवाहीमा परेका छन् ।
यस्तै ट्रक ८ सय २७, जिप/कार ७ सय ३०, बस ६ सय ५२ र टेक्टर ४ सय ९९ कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । सवारी नियम उल्लंघन गर्ने व्यक्तिहरूले सडक दुर्घटनाका सम्भावनाहरू बढाउने हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाहीलाई कडाइ गरिँदै आएको ट्राफिक प्रमुख शाहीले बताउनुभयो । ट्राफिक प्रहरीले चेतना जगाउन पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ । विद्यालय, कलेज र विभिन्न संस्थामा ट्राफिक नियम र सडक सुरक्षाबारे जनचेतना कार्यक्रमहरू आयोजना गरेर नियम पालन गर्न प्रेरित गर्ने गरिएको प्रमुख शाहीले बताउनुभयो । ट्राफिक प्रहरीले पछिल्लो समयमा दाङको मुख्य शहर क्षेत्रमा सवारी साधनहरूको चाप बढ्दै गएकाले नियम पालनमा कठोर कदम चाल्नुपरेको जनाएको छ ।
लाइभदाङ । २५ कार्तिक २०८१, आईतवार ०९:४६ बजे