खानेपानी निर्वाचन समीक्षा : गठबन्धनको असफलतामा खेल्दै ‘विद्रोही पक्ष’

दिपक बोहरा
दाङ

१९ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि सर्वसम्मत बनाउने योजना यस क्षेत्रमा क्रियाशिल राजनीतिक दलहरुको थियो । तर, सम्भव भएन । गठबन्धनका उम्मेदवारबीच नै वागी परे । पार्टी भित्रबाटै बागी परे । केहीले उम्मेदवारी फिर्ता पनि लिए, भने केहीले लिएनन् । फलस्वरुप निर्वाचन हुने अबस्थामै पुग्यो । निर्वाचनबाट पनि गठबन्धनले आकास पातलको मतान्तरले जित्ने आँकलन थियो ।

उम्मेदवार घोषणा कार्यक्रममा काँग्रेस नेता शोराकर साप्कोटाले भनेका थिए–‘हाम्रो सर्वसम्मतको प्रयास हुनेछ, यदि चुनाबमा जाने अबस्था आएमा पनि ९ दलको गठबन्धनले सामूहिक निर्वाचनमा जाने र अत्याधिक मतले जित्ने छौं ।’ तर, परिणाम त्यस्तो रहेन । प्रतिस्पर्धात्मक अबस्था बन्यो । एउटा महत्वपूर्ण पदाधिकारी ‘कोषाध्यक्ष’मा त झन हार नै व्यहोर्नु प¥यो । यसको सोझो अर्थमा व्यक्तीको मतको पनि केही प्रभाब रह्यो भने, प्यानललाई जानुपर्ने मत पनि सबै गएन –क्रस मत धेरै गयो ।

यसले गठबन्धनप्रति पनि केही शंका भने पैदा भएको छ । नाम नबताउने सर्तमा एक ब्यक्तीले भने‘गठबन्धनको सबै मत इमान्दारिता पूर्वक गएन, धेरै मत क्रस गएको थियो ।’ आम कार्यकर्ताले क्रस मत नहाल्ने भन्दै क्रस मतहरु प्रायः सुजबुझ र नेतृत्व तहबाटै हुने उनको तर्क थियो । ९ दल एकातिर हुँदा पनि आएको मत सम्मानजनक रहेको भन्दै विद्रोही समर्थक काँग्रेका नेताहरु उत्साहित भएका छन् । काँग्रेसका नेता टिका घर्तीले फेसबुकमा लेखे‘ कांग्रेसीहरु ९ दल सँग मिलेर एक सिट जिते, कांग्रेस यक्लै लडेर एक सिट जिते, भोलिको माननीय जिताउन कस्को मतको आबस्यक होला ।’ यो विद्रोह आम चुनाबमा पनि हुन सक्ने उनको आशय थियो । यदि काँग्रेसको एक पक्षले एकलौटी गर्न खोजे आम निर्वाचनमा पनि विद्रोह हुने उनले संकेत गरेका छन् । घर्ती गेहेन्द्र गिरी निकट महाधिवेशन प्रतिनिधि हुन् ।

अध्यक्षमा किन थोरै अन्तर ?

अध्यक्षमा दुबै जना काँग्रेसका उम्मेदवार थिए । यमकान्त भण्डारी गठबन्धनको आधिकारीक उम्मेदवारका रुपमा थिए, भने पबन बुढाथोकी विद्रोही समूहबाट थिए । राजनीतिक हिसाबले हेर्दा भण्डारी दीपक गिरीसंग जोडिएका व्यक्ती हुन्, भने बुढाथोकी गेहेन्द्र गिरीसंग जोडिएका व्यक्ती हुन् । दुबै यातायात व्यबसायीहरुको खानेपानीको प्रतिस्पर्धा व्यक्तीको लडाई थिएन्, उनीहरुको लडाई पार्टी भित्रका दुई गिरी दाजु–भाइको थियो ।

पहिलो पटक अध्यक्षमै हारेका भण्डारी दोस्रो पटक जिते तर, काँग्रेस भित्रकै चेपुवामा परे । फलस्वरुप उनको मतान्तर निकै न्यून रह्यो । विद्रोही समूहका बुढाथोकीले १७६७ ल्याउँदा भण्डारीले १९८६ मत ल्याए । उनीहरुको मतान्तरण मात्रै २१९ रह्यो । स्रोत भन्छ‘काँग्रेसको अधिकांस मत पवनलाई गयो, यमकान्तलाई जिताउने मत कम्युनिष्टहरुको हो ।’ यही आशयको विश्लेषण निर्वाचनलाई प्रत्येक्ष हेरेका धेरै नेताहरुले गरे । यमकान्तलाई गठबन्धन भित्र रहेका सबै कम्युनिष्ट तथा राप्रपाले इमान्दारिता पूर्वक मतदान गरेको बताए । किनभने उनीहरुकालागि गठबन्धन भन्दा अन्त भोट हाल्ने विकल्प थिएन । तर, काँग्रेस रोजीरोजी पवनलाई भोट हालेको उनको आरोप थियो ।

‘उपाध्यक्षमा पनि घात भयो’

यस अघिको कार्यकालमा कोषाध्यक्षमा रहेका सीताराम शर्मा पार्टीबाट निर्विकल्प पात्र थिए । यदि पार्टीको भागमा अध्यक्ष परेको भएपनि अर्को विकल्प थिएन । तउनै सितारामले अत्याधिक मतान्तरले जित हाँसिल गर्ने अपेक्षा गरिएको थियो । तर, आँकलन गरे अनुसार मत पाएनन् । ९ दल मिल्दा पनि सिताराम शर्मा जस्तो ब्यक्तीले ७८७ मतान्तर मात्रै हुनु भनेको गठबन्धनकालागि सकारात्मक सन्देश नभएको एक नेताले बताए ।

केन्द्रमा रहेको काँग्रेस, माओवादीलगायतका राजनीतिक दलको समीकरणलाई तुलसीपुुरमा तोड्ने गरि एमालेले भूमिका खेलेको मतपरिणामले देखाएको उनले बताए ।‘सिताराम जत्तिको लोकपृय ब्यक्तीले ८ सयको मतान्तरले जित्नु भनेको पनि धेरै सकारात्मक मान्न सकिदैन’,उनले भने‘काँग्रेसको दीपक गिरी खेमाका अधिकांस मत गयो, तर एमालेको मत निकै न्यून आयो, त्यो मत सबै गिरीधारीलाई गयो ।’

उनले थपे ‘यदी सितारामले हार्ने र उपाध्यक्षमा गिरीधारीले जित्ने अबस्था आएमा, काँग्रेसकै अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष आउने थिए, यसमा माओवादीले काँग्रेसप्रति शंका गथ्र्यो र तुलसीपुरमा गठबन्धन तोड्न सफल भइन्थ्यो ।’ यही रणनीति अनुसार सितारामले जति गठबन्धनको मत हो, त्यती पाउन नसकेको बताए ।

सचिबमा भण्डारीको लोकपृय मत


गठबन्धनले सचिबमा सेवकराम भण्डारीलाई उम्मेदवार बनाएको थियो । तर, एमालेकै दामोदर लामिछाने बागी उम्मेदवार थिए । वागी उम्मेदवारको उम्मेदवारी फिर्ता लिनकालागि धेरै पहलकदमी भएको पाइएन । पार्टीले पनि कारवाही गरेन । एक एमाले नेताले भने‘उनी समाजवादी हुन्,की एमालेका हुन्, त्यो पनि थाहा भएन, त्यसैले कसैले कारवाही पनि गरेनन् ।’ उनी मत माग्न धेरै सक्रिय पनि भएनन् । त्यसैले पनि सबै भन्दा न्यून मत उनकै थियो ।

लामिछानेलाई भण्डारीले २१५४ मतान्तरले पराजित गरेका थिए । भण्डारीले अन्य मतदाता भन्दा बढि मत ल्याएर विजयी भएका हुन् । उनले २८३८ मत ल्याएका थिए, भने उनका प्रतिद्वन्दी लामिछानेले ६ सय ८४ मत मात्रै ल्याएका थिए ।

भण्डारी सबैसंग मिलनसार र स्वच्छ छबि भएकै कारणले विजयी हाँसिल गरेका हुन् । उनी एमालेका पुराना नेता पनि हुन् । स्व. श्रीमनी आचार्य अध्यक्ष हुँदा दुई कार्यकाल पार्टीको जिल्ला कमिटि सदस्य भएर काम गरेका व्यक्ती हुन् ।

उनले बहुदल ल्याउनकालागि गरिएको आन्दोलनकै क्रममा २०४५ सालमा जेल परेका हुन् । एमाले फुटेर माले हुँदा पनि एमालेमै अडिग रहेर साबिक पवननगरमा पार्टीलाई एक बनाएका व्यक्ती हुन् ।

खानेपानीकै उनी पूर्वसचिब पनि हुन् । २०६० मा सचिब भएकाले उनले आफ्नै पहलमा रानीजरुवाको १ विघा जग्गा संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउछन् । त्यस्तै सानासहरी खानेपानी आयोजना पनि आफ्नै कार्यकालमा भित्रिएको भन्दै त्यसमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको समेत उनको भनाई छ ।

विद्रोहीबाट जित्ने थापा

विद्रोही प्यानलबाट जित्ने एक व्यक्ती हुन् ः भोला थापा । उनले कोषाध्यक्षमा जित हाँसिल गरेका हुन् । गठबन्धनका आधिकारीक उम्मेदवार भद्रबहादुर वलीलाई १८६ मतान्तरले विजयी प्राप्त गरेका हुन् । गेहेन्द्र गिरी निकट मानिने थापाले १७०२ मत प्राप्त गरेका थिए, भने वलीले १५१६ मत प्राप्त गरेका थिए । थापा तुलसीपुरका जल्दोबल्दो युवा हुन् । भद्रको राजनीतिक, बैचारिक स्तर भएपनि उन समाजमा त्यति परिचित नभएकै कारण हार व्यहोरे विश्लेषण हुने गरेको छ ।

तर, यसमा पनि काँग्रेको धेरै मत भोला तिरै गएको गठबन्धनका एक नेताले बताए ।‘काँग्रेसले अरु सबैका उम्मेदवार फिर्ता लिन लगाए’,उनले भने‘तर, काँग्रेसका उम्मेदवारले फिर्ता लिएनन्, यसको फाईदा लियो ।’ काँग्रेसले आफ्ना २ जना प्रतिनिधिलाई पदाधिकारीमा ल्याउन सफल भएको भन्दै यसकालागि काँग्रेसले गठबन्धनलाई धोका दिएको उनको भनाई थियो । सदस्यहरुमा गठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर खड्काले २०७८ मत प्राप्त गरेका थिए, भने राप्रपाका लक्ष्मण केसीले २५६४ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार शोविन्द चन्दले १३११ मत प्राप्त गरेका थिए ।

तीन जना महिला सदस्यमा भने निर्विरोध भएको छ । एमालेका आशा जीसी, जनता समाजवादीका गीता विष्ट र जनमोर्चाका छमा भण्डारी निर्विरोध भएका छन् । शनिबार मतदान भएको थियो । उक्त मतदानबाट ४४०५ मत मात्रै खसेको थियो । खानेपानीको जम्मा मतसंख्या ७६६७ रहेको थियो । साभार : अग्रिम साप्ताहिक

May be an image of 4 people and text