दाङ, ९ कात्तिक ।
दाङमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाईते हुनेमा तुलसीपुर–१८ निवासी स्कुटर चालक ४० वर्षीय निम बहादुर बिक र उनका वुवा मानबहादुर बिक रहेका छन् ।
चालक निम बहादुरको खुट्टामा सामान्य चोट लागेको र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । स्कुटरको पछाडि सवार ६५ वर्षीय मान बहादुर बिक भने गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्।
उनको टाउको र ढाडमा गम्भीर चोट लागेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ३४६६ नम्बरको स्कुटर आज (शुक्रबार) साँझ ५ बजेतिर तुलसीपुर–१७ बेलझुण्डी नजिक अनियन्त्रित भई पल्टिदा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । ९ कार्तिक २०८१, शुक्रबार २०:४२ बजे