वातावरण सन्तुलन राख्न सर्पको संरक्षण आबश्यक : पूर्वमन्त्री मास्की

तुलसीपुर, ८ कात्तिक । दाङको तुलसीपुरमा सञ्चालित सर्प महोत्सवमा सर्पको बारेमा सचेतना प्रदान गर्ने गरिएको छ । विहीबारदेखि सुरु भएको महोत्सवमा बिभिन्न प्रजातिका सर्पहरु राखिएको छ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा सञ्चालित उक्त महोत्सवमा विषालु र अविषालु सर्पहरू राखएको छ ।

मानिश र सर्पबीचको द्वन्द कम गरि सर्प संरक्षणकालागि गरिएको उक्त कार्यमा सर्पको महत्व बुझाउनुुकासाथै सर्पको टोकाइबाट बच्ने उपाय, सर्पले टोकिसकेपछि अपनाउने उपायका बारेमा जानकारी दिने गरिएको कार्यक्रम संयोजक प्रभात भण्डारीले बताउनुभयो ।“सर्प नचिन्दा पनि सर्पलाई मार्ने, सर्पदेखी डराउने जस्ता कार्य भइरहेका छन्”,उहाँले भन्नुभयो“यसलाई न्यूनिकरण गर्न यो महोत्सव आयोजना गरिएको छ ।”

महोत्सवमा अविषालु श्रींगारे सर्प, चिचिण्डे सर्प, धामन र पानी सर्प राखिएको छ । त्यस्तै गोमन, डुम, बिराजु, अजिङ्गर लगायतका सर्प प्रदर्शनमा राखिएको छ । यी बिशालु सर्प रहेकाले टोक्न वित्तिकै उपचार नगरे मृत्यु समेत हुन सक्ने उहाँको भनाई छ । ‘हामी संरक्षणको लागि काम गछौँ’ नामक संस्थाको आयोजनामा सुरु भएको महोत्सव कात्तिक १० गतेसम्म चल्ने छ । हरेक जीवजन्तुको पृथ्वीमा निकै महत्व रहने गरेको लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताउनुभयो । त्यस्तै सर्प संरक्षण आबश्यक रहेको उहाँको भनाई थियो ।


सर्पले टोक्दा के गर्ने, के नगर्ने तथा जिल्लामा सर्पको टोकाईको उपचारको अबस्था, प्राथमिक उपचारलगायतका विषयमा पनि सचेतना प्रदान गरिएको छ । पछिल्लो समय सर्प नचिन्दा मानिशले सर्पलाई मार्ने गरेका छन् । जसले सर्प लोप हुने अबस्थामा छ । सर्प लोप हुँदा पर्यावरणमा निकै असर हुने भन्दै सर्प संरक्षण गर्नु अहिलेको आबश्यकता रहेको पूर्वमन्त्री मास्कीले बताउनुभयो ।

कार्यक्रममा दाङको तुलसीपुर उपमहानगरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकाका २० हजार बढिलाई सचेतना प्रदान गर्ने लक्ष्य राखिएको छ । सर्पसंगै अन्य बन्यजन्तुका बारेमा पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्प रहेको अनुमान गरिएको छ । ति मध्ये ७ प्रजातिका सर्प विशालु भेटिएका छन् ।