राज्यले सहयोग गरे अर्को वर्षदेखी एमविविएस पढाई सुरु गर्न सक्छौ : उपकुलपति डा. लामिछाने

घोराही, ३० असोज  । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले सरकारले सहयोग गरे अर्को वर्षदेखी प्रतिष्ठानले एमविविएसको पढाइ सुरु गर्ने बताएका छन् । प्रतिष्ठानको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले अहिले प्रतिष्ठानमा विएसस्सी र विएनएस नर्सिङ पढाई सुरुवात गरेर शैक्षिक कार्यक्रम अघि बढेको चर्चा गर्दै राज्यले सहयोग गरे अर्को वर्ष एमविविएस पढाई सुरुवात गर्न सकिने सम्भावना रहेको बताएका हुन् । प्रतिष्ठानले न्युरो र कार्डियोलोजी वाहेक सबै सेवा प्रभावकारीरुपमा सञ्चालन गरीरहेको बताउदै उहाँले प्रतिष्ठानवाट अन्जानमा हुने साना–तिना कमजोरीलाई अनावश्यकरुपमा उचाल्ने काम भइरहेकोमा गुनासो गर्दै सेवा लिन आउने विरामिहरुको सल्लाह, सुझाव लिएर अघि बढिरहेको बताए । हाल प्रतिष्ठानले एमडिएमएसको पढाईको तयारी गरेको जानकारी दिदै उपकुलपति डा. लामिछानेले चिकित्सा शिक्षा आयोगमा एमजिडिपि, हाडर्जोनि र प्रसुतिमा एमडिएमएसको पढाईको लागि आवेदन पेश भइसकेको र आयोगवाट अनुमति आए कक्षा सञ्चालन गर्न सकिने बताए । उनले जेष्ठ नागरीक रोग विशेषज्ञको पढाईको लागि प्रतिष्ठानले फेलोसिप कार्यक्रम पनि अघि बढाईएको पनि जानकारी दिए । वार्षिकोत्सवको अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सिनेट सदस्य, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले प्रतिष्ठानले आफ्नो क्षमताले भ्याएसम्म प्रभावकारी सेवा दिइरहेको बताउदै न्युरो र कार्डियोको सेवा थप्न सकिएमा अझै राम्रो हुने बताए । प्रतिष्ठानमा नर्सिङ पढाई सुरुवात गरेर शैक्षिक कार्यक्रम अघि बढ्नुले आमजनमानसमा सुखद शन्देश प्रवाह भइरहेको बताउदै मेयर चौधरीले अन्य शैक्षिक कार्यक्रमहरु प्राप्तीका लागि प्रकृया अघि वढाउन स्थानिय सरकारको तर्फवाट सहयोग गर्ने विचार ब्यक्त गरे । प्रतिष्ठानले प्रवाह गरीरहेको सेवाको वारेमा रजिष्ट्रार प्रकाश थापाले जानकारी गराउदै हाल युरो र ग्याष्ट्रोलोजि सेवा पनि थपिएको पनि बताए । वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजयीहरुलाई सो अवसरमा पुरस्कृत गरीएको थियो भने विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । कार्यक्रमको सञ्चालन हाडजोर्नि रोग विशेषज्ञ डा. विकास न्यौपानेले गरेका थिए । कार्यक्रममा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरुको सहभागिता रहेको थियो ।