कृषि उत्पादन बढाउन सिँचाइ आयोजना निर्माण प्राथमिकतामाः मन्त्री चौधरी

भालुवाङ, ७ असोज ।
लुम्बिनी प्रदेशकि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले कृषि उत्पादन बढाउनका लागि सरकारले सिँचाइ आयोजना निर्माणको कामलाई प्रमुख प्राथमिकताको रुपमा राखेको बताउनुभएको छ ।

पूर्वखोला बृहत सिँचाइ योजना, पूर्वखोला ३, पाल्पाको शिल्यान्यास कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकको आर्थिक विकासको प्रमुख आधार कृषि भएको धारणा व्यक्त गर्नुभयो । उहाँले कृषि उत्पादन बढाउन सकेमा लुम्बिनी प्रदेशले अन्य प्रदेशहरूको माग अनुरुप खाद्यान्न उपलब्ध गराउन सक्ने बताउनुभयो ।

अझै पनि सिँचाइ सुविधाको अभावमा धेरै खेतीयोग्य जमिन उपयोगविहीन भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा सिँचाइ सुविधा पुर्याउनका लागि सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि संघीय सांसद नारायणप्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु श्रेष्ठ, लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मिनराज ढकाल, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

निलकण्ठ भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विनोद नेपालले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई गाउँपालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले धन्यवाद ज्ञापन गर्नुभएको थियो । २ करोड ६४ लाख ७६ हजार लागत अनुमान गरिएको सो आयोजना सम्पन्न भएपछि ५६० रोपनी क्षेत्रमा सिचाइँ उपलब्ध हुनेछ । यसबाट १५२ घरधुरीका ८७७ जनता प्रत्यक्ष लाभन्वित हुनेछन् । यो आयोजना निर्माण भइसकेपछि त्यस क्षेत्रमा बाह्रै महिना सिँचाइ उपलब्ध हुने अपेक्षा गरिएको छ ।