प्रगतिशील र समाजवादी आन्दोलनमा शिक्षकहरुको भूमिका विशिष्ट रहेको छ: विप्लव

प्रकाश डुम्रे
दाङ, ७ कात्तिक ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको जनपक्षीय र प्रगतिशिल आन्दोलनमा शिक्षकहरुको भूमिका विशिष्ट रहेको बताएका छन्।

दाङको देउखुरीमा आयोजित अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै विप्लवले जनवादी आन्दोलनमा शिक्षकले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै पछिल्लो विकसित परिस्थितिमा समेत भूमिका बढाउनु पर्ने बताएका छन् । प्रगतिशील र जनवादी चेतनाबाट अभिप्रेरित शिक्षकहरुले नै वास्तविक समाजको धरातल बुझ्ने भन्दै विप्लवले देशभरि शिक्षकहरुले विद्यार्थी र समाजमार्फत समाजवादी अभियानको बहस समेत चलाउनुपर्ने बताए ।

एक अर्को प्रशंगमा महासचिव विप्लवले जनयुद्धलाई बदनाम र अपराधीकरण गराउदै पछिल्लो विकसित परिस्थिति सिर्जना गर्न खोजिएको बताए ।पुराना संसदीय दलहरू भ्रष्टाचार र अनियमिततामा लिप्त हुदै जादा प्राप्त उपलब्धि समेत बदनाम हुँदै गएको र जनअधिकार खोसिएको बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले पछिल्लो विकसित राजनीतिक घटनाक्रमले समाजवादी आन्दोलन सन्निकट भएको बताए । देशको अफ्ट्यारो परिस्थितिमा बौद्धिक समुदायको भूमिका विशिष्ट हुने बताउदै विप्लवले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्दै राष्ट्रिय समस्यामा क्रान्तिकारी र प्रगतिशील शक्तिहरुसंग हातेमालो जरुरी रहेको बताए ।

अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन पछि महासचिव विप्लव भोलि दाङ देउखुरीमा आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने पर्सी प्युठानमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।