दाङमा अटो दुर्घटना हुँदा तीन जना घाइते

दाङ २८, असोज । दाङमा अटो पल्टीदा तीन जना घाइते भएका छन् । आज साँझ साढे ६ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह २१०८ नम्बरको अटो दंगिशरण गाउँपालिका–५, पोटलीचोकमा अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका हुन् ।

दुर्घटनामा परी बर्दियाको राजापुर–२ का ४० वर्षिया सुन्तली परियार, सोही ठाँउँकै ६५ वर्षिया धनी परियार घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।


यस्तै अटो चालक तुलसीपुर–९ का ६१ वर्षीय गोपाल चौधरी र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार अटो चालक पनि घाइते भएका छन् । अटोमा सवार रहेका चार जनामध्ये तीन जना मात्रै घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।