झोलुंगेपुल प्रयोग भएन

तुलसीपुर, ८ असोज । 
कुनै समय बरदान सावित थियो । दाङको राजपुर गाउँपालिकाको जंग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुंगे पुलले नै वारपार गर्न सहज बनाएको थियो ।

लमही र राजपुर जोड्ने एउटा राम्रो माध्याम त्यही पुल थियो । राप्ती नदीमा धेरै ठाउँमा डुंगाबाट जोखिम यात्रा गरिरहेको अवस्थामा त्यो पुलले निकै सहज बनाएको थियो । तर, अहिले त्यही पुल प्रयोग विहीन बनेको छ । सोही पुलको एकसय मिटर नजिकै पक्की मोटरेवल बनेपछि अहिले त्यो पुल प्रयोग विहीन छ । “पहिले यो पुल निकै प्रयोग हुन्थ्यो, बरदान जस्तै बनेको थियो”, राजपुर निवासी शान्त कुमार बुढाले भने “तर, नजिकै मोटरेवल पुल बनेपछि प्रयोग हुन छाडेको छ ।”


कुनै समय यो पुलले वारपार गर्न निकै सहज हुने अवस्था रहेको उनको भनाई छ । राजपुर गाउँपालिकासंग राजमार्गको सम्बन्ध नहुँदा यही पुलले सम्बन्ध जोडेको थियो । अहिले त्यो पुल प्रयोगविहीन भएकाले त्यसलाई निकालेर अन्य पुल नभएको ठाउँमा लैजान सकिएमा त्यसले डुंगाबाट यात्रा गरिरहेका नागरिकलाई सहज हुने बुढाको भनाई छ ।“धेरै ठाउँमा पुल छैनन्, तर, यहाँ एकै ठाउँमा दुईवटा पुल भए”,उनले भने “यसलाई निकालेर पुल नभएको ठाउँमा लैजान सकिए, त्यहाँका नागरिकलाई सहज हुन्थ्यो ।” अझै पनि धेरै ठाउँमा डुंगाकै साहारा लिनुपर्ने अवस्था रहेको भन्दै यसमा पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।

३५ करोड लागतमा २८० मिटर लामो पुल बनेको छ । उक्त पुल बनेपछि सवारी साधन पनि आवत जावत गर्न सहज भएको छ । त्यही पुल तारेर हुलाकी राजमार्ग समेत जान सकिन्छ । ४ वर्ष अघि त्यहाँ मोटरेवल पुल निर्माण भएको हो ।  पुल निर्माण भएपनि सोही ठाउँमा सडक भने स्तरवृद्धि हुन सकेको छैन् । त्यही ठाउँबाट भारतसंग जोडिएका विभिन्न नाकामा पनि जान सकिन्छ । साभार :अग्रिम साप्ताहिक