रिहार धाममा पर्यटक आउन छोडे

तुलसीपुर, ८ असोज ।
पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका ९ स्थित रिहार धाम हिजोआज सुनसान छ । हरेक वर्ष माघीमा मेला लाग्दा मात्रै घुइँचो हुने गरेको भएपनि अन्य समयमा सुनसान हुने गरेको छ । दैनिक १/२ जना जति पनि मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन् । खासगरि सोही ठाउँमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थीहरू धेरै हुन्छन् । पारिवारिक सुःख र पशु चौपायालाई रोग व्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन् । बिशेष गरि त्यहाँ लाग्ने मेलामा भौरी(ढुंगा) बोकेर को बलियो छ, भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ । द्वापर युगमा ऋषिमुनिहरूले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ ।

बगारबाबासहित भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर जस्ता तीर्थाटन पर्यटकहरूको लागि धार्मिक संरचना रहेका छन् । त्यहाँ अहिले १० लाखको लागतमा पार्क पनि निर्माण भइरहेको छ । यसरी संरचना पनि थपिदै जाने तर, पर्यटकहरू नआउने गर्दा स्थानीय चिन्तित छन् । “दिनमा २/३ जना मात्रै आउछन्”,स्थानीय सम्झना चौधरीले भनिन् “कहिल्यै त शून्य हुन्छ ।”

यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकहरुले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ ।


रिहारलाई यदुवंशी अर्थात यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेरुत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । अर्को रिहारमा थारु जातीहरूको पनि संस्कृति जोडिएको छ । थारु जातीहरूले रिहार क्षेत्रमा परापुर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् ।

रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो ।  रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको किम्बदन्ती पनि छ । त्यहाँ तप्त कुण्ड पनि छ । जहाँ सधै तातो पानी हुन्छ । मामा भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ । यति धेरै संरचना हुँदा पनि पर्यटकहरूको आकर्षण नबढ्नु दुःखद रहेको स्थानीय चौधरीले बताए । साभारः अग्रिम साप्ताहिक