दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा जोशी

तुलसीपुर,१४ असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वसन्त जोशी निर्वाचित भएका छन् ।

जोशीले १३४५ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्, भने उनका प्रतिद्वन्दी रामप्रसाद पोख्रेलले ९१० मत प्राप्त गर्नुभयो । नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनबाट उद्योग उपाध्यक्ष बाहेक सबै पदमा वसन्त जोशीको नेतृत्वको संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार विजयी भएको हो । उद्योग उपाध्यक्षमा भने रामप्रसाद पोख्रेल नेतृत्वको साझा, समावेशी व्यवसायिक प्यानलका ध्रुर्व कुमार गहतराज विजयी भएका हुन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगत आचार्य र सहकोषाध्यक्षमा माधव खनाल निर्वाचित भएका छन् ।


त्यस्तै उद्योग सदस्यमा विक्रम राना, महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णु प्रसाद रिजाल र एशोसियट सदस्यमा युवराज पोख्रेल निर्वाचित भएका छन् । सदस्यहरुमा रुद्र बहादुर जैशी, दिपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, राम प्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, तोर्वु तामाङ र सुरज बुढाथोकी निर्वाचित भएका हुन् ।

वसन्त जोशी नेतृत्वको संयुक्त व्यवसायिक प्यानललाई सत्तारुढ दल नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, राजमोलगायत दल समर्थक व्यवसायीहरुको समर्थन थियो भने रामप्रसाद पोख्रेल नेतृत्वको सझा, समावेशी व्यवसायिक प्यानललाई नेकपा एमाले, राप्रपा, नेकपालगायतका व्यवसायिकहरुको समर्थन थियो । शनिवार भएको मतदानमा ३३५८ मतदातामध्ये २३५७ मत खसेको थियो ।