टरिगाउँ एयरपोर्टमा खोक्रो राजनीति

दाङको टरिगाउँ एयरपोर्ट राजनीतिकको केन्द्र बन्ने गरेको छ । आफ्नो पार्टीको सरकार आएलगतै टरिगाउँ एयरपोर्ट स्तरबृद्धि गर्ने भनि फाईल बोकेर पार्टीका नेता तथा कार्यकर्ता काठमाडौं पुग्छन् । कुनै बेला विकल्प खोज्नु पर्छ, भन्नेहरु पनि सरकारमा आएपछि एयरपोर्टकालागि पहलको नाटक नै रचिरहेका हुन्छन् । जसले एयरपोर्ट स्तरबृद्धि हुन्छ, भनेर लागिरहेका हुन्छन्, उनीहरु आफ्नो तरिकाले काम गरिरहेका हुन्छन्–तर धेरै प्रचार गर्दैनन् । तर, जसको एयरपोर्टप्रति गलत धारणा छ, उनीहरुले एयरपोर्ट विस्तारको नाटक मन्चन बढि गरिरहेका हुन्छन् । पछिल्लो समय त्यस्तै दृष्य देखिएको छ । अहिले टरिगाउँ एयरपोर्टको फाईल बोकेर काठमाडौं जाने र प्रधानमन्त्रीसंग फोटो खिचेर एयरपोर्ट अहिले नै आइहाल्छ, जसरी प्रचार गरिरहेका हुन्छन् ।

नागरिक उड्ययन प्राधिकरण(क्यान) नै अहिलेको टरिगाउँ एयरपोर्ट विस्तारको बाधक हो । जसले टरिगाउँ एयरपोर्टको हाल भएको ७५० मिटर धावनमार्गलाई विस्तार गरेर १५०० पु¥याउनै नसकिने भन्दै विगतदेखि नै भन्दै आएको छ । त्यहाँ एयरपोर्ट विस्तार हुन सक्ने अन्य अध्ययन, प्रतिवेदन तयार भएपनि क्यानले त्यसलाई स्वीकार गर्न नसक्दा नै अहिलेको परिस्थिति सिर्जना भएको हो । मुख्य समस्या क्यानका डीजी नै हुन् । उनले टरिगाउँ एयरपोर्ट बनाउने पक्ष कहिल्यै पनि वकालत गर्न सक्दैनन् । विगतमा उनलाई नै प्रयोग गरेर टरिगाउँ एयरपोर्टमा बजेट समेत आउन बाधक बनाउनेहरु अहिले त्यसलाई चिरेर बजेट ल्याउन सफल भएमा मात्रै अहिलेको पहलको सकारात्मक मूल्यांकन हुने छ । तर, अहिले जसरी प्रचार भएको छ, त्यसरी बजेट ल्याउन सक्ने अबस्था नभएमा अरुलाई दोष लगाउने मात्रै हुन्छ । आफूले पनि गर्न नसक्ने र गर्न खोज्नेहरुलाई पनि बिभिन्न बाधा,अट्काउ बनाएर अल्झाउने काम विगतदेखिकै समस्या हो । त्यो समस्या अन्त्य हुनुपर्छ ।


जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने नेतृत्व किन नहोस, दाङको त्यो नेतृत्व सकारात्मक भएमा कसैले पनि यो एयरपोर्टलाई विस्तार गर्न रोक्न सक्दैन । केन्द्रमा प्रभाबशाली नेतृत्वले चाहेमा यो एयरपोर्ट विस्तार हुन नसक्ने कुरा पनि होईन् । तर, जनताका आँखामा छारो हालेर, अहिले पनि त्यसलाई राजनीति बनाउने खेल भएमा अब विगतजस्तो माफी जनताले नदिन सक्छन्, यस तर्फ पनि सोँच्न आबश्यक छ । साभारः अग्रिम साप्ताहिक