हाम्रो चौथो वर्षको यात्रा..

अग्रिम साप्ताहिक प्रकाशन भएको तीन वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गरेको छ । अग्रिम साप्ताहिककै सञ्चालनमा लाईभदाङ डटकम (www.livedang.com) सञ्चालनमा छ । निरन्तर चार बर्षमा हामीले सधै न्यायको पक्षमा कलम चलायौं । भनिन्छ, पत्रकारिता स्वतन्त्र हुन्छ । तर, हाम्रो बुझाई त्यो होईन् । पत्रकारिता सधै न्यायको पक्षमा हुन्छ भने अन्यायको विरुद्धमै हुन्छ । पत्रकारिताले सामाजिक न्यायको वकालत गर्दछ । पिछडिएको बस्ति, पिछडिएको समाजलाई अगाडी लैजान त्यसको पक्षमा पत्रकारले कलम चलाउनु पर्छ । अल्पविकसित क्षेत्रलाई विकसित बनाउने तर्फ पत्रकारको कमल चल्नु पर्छ । अन्यायमा परेकालाई न्याय दिलाउने सन्दर्भमा पत्रकारका कलम चल्नु पर्छ । यही मान्यताले हामी ओतप्रोत भयौं र हाम्रा कलमहरु त्यसरी नै चले ।

हामीले सामाजिक न्यायकै पक्षमा कलम चलायौं । हामीले अहिलेसम्म छापा तथा अनलाईन सञ्चार माध्यामबाट कलम चलाएका थियौं । अब हामीले भिडियो माध्यमबाट पनि समाचार सामग्रीहरु प्रसारण गर्ने तयारी गरिरहेका छौं । यसले हामीलाई थप शसक्त भएर आवाज उठाउन मद्दत पुग्ने छ ।


पछिल्लो समय छापा माध्यामप्रति घट्दै गएको आकर्षणलाई बढाउन अनुसन्धानमुलक समाचारलाई जोड दियौं । कुनै औपचारिक कार्यक्रम भन्दा बढि खोजी समाचारलाई प्राथमिकता दिएर प्रकाशन गरेका छौं । समाचारमा नयाँ पनकै खोजीमा लागि रह्यौं । अबका पाठक केही नयाँ खोजिरहेका छन् । अब परम्परागत विषयबस्तु र प्रस्तुतीले पाठकलाई आकर्षण गर्न सकिने अबस्था छैन । त्यस्तै नयाँ विषयबस्तु र नयाँ प्रस्तुतीलाई प्राथमिकता दियौं । पत्रकारितामा नयाँ पन दिने आभास ग¥यौं । त्यसमा हामीले कति सक्यौं, कति गर्न बाँकी छ, त्यो मूल्यांकन पाठकले गरिरहनु भएकै होला भन्ने हाम्रो विश्वास छ । तर, हामी हाम्रो काम, जिम्मेवारीप्रति इमान्दारपूर्वक लागिरहेकै छौं र लागि नै रहने छौं । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनकालागि सबैले त्यतिकै साथ दिनुहुनेछ, भन्ने हाम्रो अपेक्षा छ ।