श्रमदानबाट बन्यो ‘कल्भर्ट ’

दीपक बोहरा
तुलसीपुर, २८ भदौ ।
यस अघिको बर्षादले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित सिर्से खोलामा बनाईएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी समेत हिड्नु पर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।

त्यसैलाई मध्यनजर गरि सोही ठाउँमा श्रमदान गरेर स्थानीयले कल्भर्ट निर्माण गरेका छन् । पटक–पटक ह्युमपाइप बगाउँने हुँदा त्यसलाई अड्याउनकालागि ग्याविन जाली हालिएको वडाध्यक्ष तुलसी थापाले बताउनुभयो ।“पटक–पटक हामीले त्यहाँ ह्युमपाइप राख्छौं”,उहाँले भन्नुभयो“तर, अलिकति ठूलो खोला आउँदा बगाइदिने भएकाले यस पटक ग्याविन जाली हालेका छौं ।”


वडाध्यक्ष थापाले सबैलाई श्रमदान गर्नकालागि आह्वान गरेपछि श्रमदान गरेर उक्त ह्वीमपाइप अड्याउन ग्याविन जाली निर्माण गरिएको हो । त्यहाँ खोला हुँदै दिपेन्द्र आधारभूत विद्यालय घोरानेटीमा विद्यार्थीहरु पढ्न जाने गर्छन । स–साना विद्यार्थीहरुलाई निकै जोखिम हुने भएकाले विद्यालयका शिक्षकहरुले पनि श्रमदान गरेको वडाध्यक्ष थापाले बताउनुभयो । त्यहाँ कलभर्ट राखेपछि आवतजावतमा सहज भएको छ ।

विद्यार्थीहरु पनि सहजै आउन सक्ने भएको वडाध्यक्ष थापाको भनाई छ । विकासकालागि मुख ताक्ने भन्दा पनि एकताबद्ध भएर समस्याको समाधान गर्न तर्फ स्थानीयहरु पनि जागरुक हुनुपर्ने वडाध्यक्ष थापाको भनाई छ ।“विकासकालागि सरकारकै मुख ताक्नु पर्छ भन्ने छैन”,उहाँले भन्नुभयो“केही–केही कुराहरु त स्थानीयको एकता भएमा पनि आफै पनि गर्न सकिन्छ, भन्ने उदाहरण दिन पनि यो कार्य गरिएको हो ।” जनताको एकता पनि विकासको आधार रहेको समेत अध्यक्ष थापाले बताउनुभयो ।