विमला वलीको दुखेसो : मैले योजना लग्थेँ, तर कुनै पनि पर्दैनथे

दाङ
२० मंसिर / लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान राज्य मन्त्री विमला कुमारी खत्री(वली)ले आफू सांसदमा निर्वाचित भइसकेपछि लिएका गाउँ–गाउँका योजनाहरुलाई तत्कालिन शंकर पोखरेलको सरकारले ‘डष्टविन’मा फालिदिने गरेको गुनासो गरेकी छिन् । ‘ मैले चुनाब जितेपछि केही गर्छु भनेर एजेण्डा अघि सारे । ति एजेण्डा पूरा गर्न धेरै योजनाहरु लगेँ’,उनले भनिन्‘तर, मैले लगेका कुनै पनि योजनाहरु सुनुवाई भएनन्, त्यसपछि मलाई चित्त नबुझेर माओवादी रोजेकी हुँ ।’

उनले आफू चुनाब लड्दा को एमाले, को माओवादी भनेर नचिनेको र जसले सहयोग ग¥यो त्यसकै पछि लागेको समेत बताईन् । दाङका बबई गाउँपालिका वडा नं. २ सीतापुरमा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको वडा भेलालाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरिन् ।

उनले आफ्नो सांसद विकासकालागि आएको ८० लाख बजेट पनि बबई गाउँपालिका अध्यक्षले कहाँ हाल्नु भयो, भन्ने कुरा पनि थाहा नपाएको उनको भनाई थियो । साथै उनले श्रीमान सवार गाडीलाई बनाउनकालागि विरगंज लगिएको र सोही गाडी निकाल्नकालागि पटक–पटक एमालेका नेताहरुलाई पहल गरिदिन अनुरोध गर्दा पनि कुनै चासो नदिएको उनको गुनासो छ ।‘श्रीमानको दुर्घटनापछि गाडी बनाउन विरगंज लगिएको रहेछ, मेरो श्रीमानसंग एमालेकै नेताहरु नजिक भएकाले मैले त्यो गाडी निकाल्दिन धेरै नेताहरुलाई अनुरोध गरेँ’,उनले भनिन्‘कसैले पनि नटेरेपछि माओवादीका नेता भिमबहादुर वलीलाई भनेर उहाँलाई लगेर गएँ, तर गाडी बनाईदिएका रहेनछन्, धेरै पछि गाडी बनाएर ल्याए । यसरी दुःख पर्दा मलाई एमालेका नेताले सहयोग गरेनन्, त्यसैले दुःखी, गरीबको सेवा गर्ने माओवादी नै रहेछ जस्तो लाग्यो, अनि मैले माओवादी रोजेकी हुँ ।’

उनले आफू श्रीमानको मृत्यु पछि राजनीतिमा आएको र आफू आउँदा एमाले, माओवादी भनेर कसैलाई पनि नचिनेको भन्दै जसले दुःखी गरीबको पक्षमा काम गर्छ त्यसकै पछि लाग्ने उनको भनाई थियो ।

विभिन्न योजनाहरुको अनुगमन
राज्यमन्त्री वली ले पश्चिम दाङका बिभिन्न योजनाहरुको अवलोकन गरेकी छिन् । पश्चिम दाङको शान्तिनगर, दंगीशरण, बबई र तुलसीपुरका बिभिन्न स्थानमा पुगेर त्यहाँको विकास निर्माणको अबस्था र आबश्यक थप विकासको पहलकालागि अवलोकन गरेकी हुन् ।


उनले शान्तिनगर गाउँपालिका वडा नं. ५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गरेकी छिन् । सोही सभाहल निर्माणको काम तिब्रगतिमा अघि बढिरहेको छ । त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित बागरमा रहेको १५ सैयाको अस्पतालको पनि अवलोकन गरेकी छिन् । सोही अस्पतालाई प्रदेश सरकार मातहत लैजाने उनले प्रतिबद्धता जनाइन ।

त्यस्तै दंगीशरण गाउँपालिका वडा नं. ५ स्थित स्वास्थ्य चौकी र वडा नं. ७ को आधारभूत स्वास्थ्य केन्द्रको पनि अनुगमन गरेकी छिन् । त्यस्तै शान्तिनगर गाउँपालिका वडा नं. २ मा बन्दै गरेको १५ सैयाको अस्पतालको अनुगमन गरेकी छिन् । अस्पतालकालागि पिल्लर तयार गरिएको छ । अन्य काम जारी रहेको छ ।

त्यस्तै बबई गाउँपालिकाको वडा नं. २ स्थित ठूलाचौर–घुरिन्डाडा (सीतापुर) जोड्ने पुल निर्माण स्थलको पनि अवलोकन गरेकी छिन् । सोही स्थानमा पुल निर्माणको काम केही समयमा सुरु हुने राज्यमन्त्री वलीले बताईन् ।

त्यस्तै बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा निर्माण हुन लागेको १५ सैयाको अस्पताल निर्माणको काम पनि अवलोकन गरेकी छिन् । जुन अस्पताल सिलन्यास भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन । अहिलेसम्म पिल्लर समेत राख्न नसकिएको राज्यमन्त्री वलीले बताईन् । साथै सोही वडाको हंसपुर माविको पनि अलवोकन गरेकी छिन् ।