शोभाराम बस्नेतः जसको जीवन संघर्र्ष, त्याग र निष्ठाको उदारहण

दीपक बोहरा
दाङ, ११ साउन।
नेपाली राजनीतिक आकाशमा धेरै नामहरू उदाउँछन्, र अस्ताउँछन् । कोही पद र प्रतिष्ठाको लोभमा हराउँछन् त कोही सत्ताको लुछाचुँडीमा आफ्नो आदर्श नै बिर्सिन्छन् । तर, यही भिडमा एउटा यस्तो नाम छ, जसले जीवनको सात दशकभन्दा लामो यात्रा केवल संघर्र्ष, त्याग र निष्ठामा बितायो। ती नाम हुन्– शोभाराम बस्नेत ।

२००४ सालमा रोल्पाको साविक बुढागाउँ (हाल त्रिवेणी गाउँपालिका) को एक सामान्य किसान परिवारमा शोभारामको जन्म भएको थियो। रामप्रसाद र कोशिला बस्नेतका जेठो सन्तानका रूपमा जन्मिएका उनको बाल्यकाल सुखद रहेन। बाल्यकालको उत्तराद्र्धमा उनको परिवार रोल्पाबाट दाङको डुरुवामा बसाइँ स¥यो । दाङको धुलो र माटोसँगै हुर्किएका उनले बाल्यकालदेखि नै गरिबी र अभावको कडा संघर्षलाई नजिकबाट नियाल्ने मौका पाए, जसले उनलाई भविष्यमा समाज र राष्ट्रका लागि केही गर्ने प्रेरणा दियो।

शोभारामले दाङको महेन्द्र हाई स्कूलबाट प्रवेशिका उत्तीर्ण गरे। तर, उनको ज्ञानको तिर्खा यतिमा मात्र सीमित रहेन। उनी उच्च शिक्षाका लागि भारतको वनारस पुगे र त्यहाँबाट अंग्रेजी विषयमा स्नातक गरे। वनारसको बसाइले उनलाई केवल किताबी ज्ञान मात्र दिएन, बरु राजनीतिक चेतनाको ढोका पनि खोलिदियो।

१९ वर्षकै उमेरमा विस २०२३ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता लिएर आफ्नो क्रान्तिकारी यात्राको जग बसालेका थिए।

जेल, भूमिगत जीवन र विद्रोह राजनीतिक यात्रा सहज थिएन। पञ्चायती व्यवस्थाको दमनका बीच उनले २०३० सालमा एक वर्ष जेल सजाय भोगे। जेलबाट छुटेपछि पनि उनी शान्त बसेनन्ः बरु २०३१ सालदेखि सात वर्षसम्म कठिन भूमिगत जीवन बिताए।


त्यसबेला उनले नेपालका विभिन्न भागमा पुगेर क्रान्तिकारी गतिविधि सञ्चालन गरे। शोभारामको राजनीतिक जीवनको एउटा महत्वपूर्ण मोड भनेको नेत्रलाल अभागीसँगको सामिप्यता हो। २०३४ सालमा मोहन विक्रम सिंहको नेतृत्वमा रहेको पार्टीमा आन्तरिक असन्तुष्टि चुलिएपछि उनले विद्रोह गरे र नेत्रलाल अभागीसँग मिलेर ‘सन्देश समूह’ को स्थापना गरे। पछि उनी नेकपा मालेमा आबद्ध भएर पञ्चायत विरोधी आन्दोलनमा होमिए।

शोभाराम सधैँ भुइँमान्छेहरूको आवाज बने। २०३६ सालमा दाङमा भएको किसान आन्दोलनलाई सफल बनाउन उनले अहम् भूमिका खेले। तर, विडम्बना! किसानको अधिकारका लागि लड्ने शोभारामसहित २३६ जना योद्धाहरूलाई तत्कालीन शासकले ‘डाँका’ मुद्दामा फसाए।

यो उनको राजनीतिक जीवनको एउटा ठुलो परीक्षा थियो, जसलाई उनले अविचलित भएर सामना गरे।

एक निष्ठावान योद्धा २०६२/ ६३ को जनआन्दोलनमा दाङ जिल्लाको नेतृत्व समेत गरे । आन्दोलन सफल भयो, देशमा व्यवस्था बदलियो, धेरै नेताहरू सत्ता र शक्तिमा पुगे। तर, शोभारामले कहिल्यै लाभको पदका लागि मरिहत्ते गरेनन् ।

उनी २०५६/५७ सालमा जिल्ला विकास समितिको सदस्य बनेका थिए । त्यसपछि उनी भूमि समस्या समाधान आयोगको लुम्बिनी प्रदेश संयोजक बने । त्यो बाहेक उनी कहिल्यै लाभको पदमा पुगेनन् । तर उनको संघर्ष र विचारले नेपाली समाजमा गहिरो छाप छोडेको छ। उनी पदले भन्दा पनि आफ्नो निष्ठा र कर्मले जनताका बीचमा सधैँ आदरणीय बने।