उच्च शुल्कको मारः विद्यार्थी र अभिभावकको पीडा

तुलसीपुर उपमहानगरपालिकाका निजि विद्यालयहरुले अत्यधिक शुल्क असुल्ने गरेको समाचारले शिक्षा प्रणालीमा रहेको गम्भीर समस्यालाई उजागर गरेको छ। विद्यालयहरुले पठाएको विवरण अनुसार, गुरुकुल एकाडेमीले नर्सरी तहका विद्यार्थीहरुबाट मासिक ४ हजार ५ सय शुल्क असुल्ने गरेको पाइएको छ। यसरी अत्यधिक शुल्क लिने प्रवृत्तिले आधारभूत वर्गका विद्यार्थी तथा उनका अभिभावकहरुलाई ठूलो आर्थिक बोझ थप्ने काम गरेको छ।

विद्यार्थीहरुका लागि शिक्षा प्राप्ति सहज र सुलभ हुनु पर्ने हो भने निजि विद्यालयहरुले मनोमानी शुल्क असुल्ने कार्यले उनीहरुलाई थप आर्थिक संकटमा धकेलिरहेको छ। विशेषगरी निम्न र मध्यम वर्गका अभिभावकहरु यसबाट प्रत्यक्ष प्रभावित भएका छन्। विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानूनी प्रावधान हुँदाहुँदै पनि यसको सही कार्यान्वयन नहुनु दुखद पक्ष हो। कतिपय विद्यालयले भने एकै परिवारका धेरै सदस्यलाई छात्रवृत्तिमा छुट दिएर कानूनी प्रावधानलाई पन्छाउने गरेका छन्।


यसरी अत्यधिक शुल्क लिने र छात्रवृत्ति वितरणमा लापरवाही गर्ने विद्यालयहरुलाई तत्काल नियन्त्रणमा ल्याउनुपर्छ। शिक्षा एक मौलिक अधिकार हो, र यसलाई कसैको नाफा कमाउने साधन बन्न दिनु हुँदैन। उपमहानगरपालिकाले विद्यालयहरुको शुल्क निर्धारण र छात्रवृत्ति वितरणमा कडाइका साथ अनुगमन गरी, सही कार्यान्वयन गराउनुपर्छ। यसले मात्रै अभिभावक र विद्यार्थीहरुको पीडा कम हुनेछ र शिक्षा प्रणालीमा विश्वासको पुनर्स्थापना हुनेछ। साभारः अग्रिम साप्ताहिक