आज कृष्णजन्माष्टमी मनाइँदै

काठमाडौं, १० भदौ ।
आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । हिन्दू धर्मावलम्बीले भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा कृष्ण भगवानको पूजा आरधना गरी मनाउँदैछन् । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान विष्णुको आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका विश्वास गरिन्छ ।

आज देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।


आजको दिनलाई कृष्णअष्टमी र रातलाई मोहरात्रि भनिन्छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास छ ।