राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर
मसुरीया, ३१ चैत।
दाङको राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्मकाे सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न गरेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ७ स्थित भानपुर चोकमा आयोजना गरिएको थियो।

गाउँपालिकाले आफ्ना मातहतका कार्यालयहरूबाट प्रदान गरिएका सेवा, योजना र कामकारवाहीबारे जानकारी गराउँदै सेवाग्राहीसँग अन्तरक्रिया गर्न तथा सेवा प्रदायकलाई जवाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइको आयोजना गरेको हो।

कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिँचाइ, विद्युत, विपद् व्यवस्थापन, न्यायिक सेवा, सुशासनलगायतका विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए।उनीहरुले उठाएका प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू र सम्बन्धित शाखा प्रमुखहरूले दिनु भएको थियो।


साे कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष विष्टले निर्वाचनका बेला गरिएका अधिकांश प्रतिबद्धता पालिकाले पूरा गरेकाे उल्लेख गर्दै समृद्धि, विकास र सेवा प्रवाहमा आफूहरु निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “काम गर्दा ढिलोचाँडो त हुन्छ, तर हामी राप्तीवासीको सेवामा निरन्तर लागिरहेका छौँ। रचनात्मक सुझाव, सल्लाह र खबरदारी पनि निरन्तर रहोस् भन्ने हाम्रो अपेक्षा छ।”

अध्यक्ष विष्टले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलता जस्ता क्षेत्रका आधारभूत आवश्यकता पूरा गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै, उहाँले दिगो विकासका लागि जनसहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो।

कार्यक्रमको सहजीकरण पत्रकार चुमा आचार्य र दिबाकर पोख्रेलले गर्नुभएको थियो। राप्ती गाउँपालिकाले पारदर्शिता र जवाफदेहिताको औजारको रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम प्रत्येक त्रैमासिकमा सञ्चालन गर्दै आएको छ।