व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज

तुलसीपुर, १० साउन ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले स्नातक तहमा व्यवस्थापन संकायका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको साझेदारीमा सञ्चालित कलेजले यसै शैक्षिक सत्रबाट बिएचटिएम र विविए कार्यक्रम सञ्चालन गर्न लागेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिए ।

कार्यक्रमका बारेमा जानकारी दिनका लागि तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कलेज प्रमुख आचार्यले तुलसीपुर क्षेत्रमा पहिलो पटक यसखालको कार्यक्रम सञ्चालन गर्न लागिको जानकारी दिए । ‘तुलसीपुरलाई शिक्षा क्षेत्रको मुल केन्द्रका रुपमा विकास गर्न स्थानीय सरकारको उद्देश्य अनुसार हामीले काम गरिरहेका छौ ।’ कलेज प्रमुख आचार्यले बताए । नयाँ कार्यक्रम सञ्चालनले विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि ठाउँ नै छाड्नुपर्ने बाध्यताको अन्त्य गरेको समेत उनको भनाई थियो ।

तुलसीपुर क्षेत्रका विभिन्न विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक श्रीप्रसाद भट्टराइले नेपालमा पर्यटन र होटेलको क्षेत्रमा सम्भावना बढ्दै गएकाले यस क्षेत्रको कार्यक्रम सञ्चालनमा विश्वविद्यालयले चासो दिएको बताए । उनले विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा पनि प्रयोगात्मक अभ्यासमा जोड दिने बताए ।


विश्वविद्यालयका शैक्षिक कार्यक्रम संयोजक राजेन्द्र घिमिरेले विभिन्न देशका विश्वविद्यालयसँग विद्यार्थी साटासाट कार्यक्रम मार्फत विद्यार्थीलाई अध्ययनका क्रममा अन्य देशमा पनि पठाउने जानकारी दिने । उनले थप सिकाइ अन्तर्गत अन्तर्राष्ट्रिय भाषाको पनि अध्यापन गराइने जानकारी दिए ।

कार्यक्रममा विविए कार्यक्रमा बारेमा बन्दना शर्मा र मनोज केसीले जानकारी गराएका थिए भने बिएचटिएमका बारेमा विवेक अधिकारी र कमल पन्थीले जानकारी दिएका थिए ।