लमहीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

प्रिया स्मृती गजमेर
देउखुरी,२८ वैशाख ।
लमही नगरपालिका वडा नम्बर ५ को आयोजनामा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख जोगराज चौधरीले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सिर्जनशील बनाउने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले प्रतिभा पहिचानका साथै समाजमा आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख लक्ष्मी योगीले खेलकुदले महिला तथा पुरुष दुवैलाई समान अवसर प्रदान गर्ने उल्लेख गर्दै महिलाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । उहाँले स्थानीय तहले खेल क्षेत्रको विकासमा थप ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले खेलकुदलाई अनुशासन, नेतृत्व विकास र स्वास्थ्यसँग जोडिएको क्षेत्रका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिने बताउनुभयो ।


वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले वडास्तरबाट आयोजना गरिएका खेलकुद कार्यक्रमले स्थानीय खेलाडीलाई अवसर मिलेको बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काले खेलकुदमार्फत युवाहरूलाई कुलतबाट टाढा राख्न सकिने बताउँदै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदीले पुरुषतर्फको प्रतियोगिता देउखुरी व्यापी र महिलातर्फको प्रतियोगिता नगरस्तरीय रहेको जानकारी दिनुभयो । उहाँले खेलकुद गतिविधिलाई निरन्तरता दिँदै युवाहरूलाई सकारात्मक क्षेत्रमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा ६ वटा महिला टिम र ११ वटा पुरुष टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । खेलको प्राविधिकतर्फ भरत कंवर, गुरु प्रसाद चौधरी, रवीन्द्र जिसी, सुरेश शाह र रमेश कंवर रहनुभएको छ । कार्यक्रममा वडा सदस्य चन्द्रा चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने लमही नगरपालिकाकी प्रेस एडभाइजर प्रिया स्मृती गजमेरले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।