तुलसीपुरलाई संयुक्त राष्ट्र संघले हत्या हिंसा हुने ठाउ भनेर चिन्छ, हामीले बौदिक ब्यक्तीहरु बस्ने ठाउँ भनेर स्थापित गर्नुपर्छ : अपार

तुलसीपुर, ११ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिब जगप्रसाद शर्मा अपारले तुलसीपुरलाई बौद्धिक ब्यक्तीहरु बस्ने थलोका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । अहिले संयुक्त राष्ट्र संघले तुलसीपुरलाई बढि हत्या, हिंसा हुने ठाउँ भनेर असुरक्षित क्षेत्रका रुपमा चिनिरहेको भन्दै यसलाई बौद्धिक, राम्रो संस्कार भएका ब्यक्तीहरुको बसोबास रहेको स्थानका रुपमा परिचित गराउन आबश्यक रहेको उनको भनाई छ ।
माओवादी केन्द्र तुलसीपुरको दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले राप्ती राजमार्गको स्तरबृद्धि गर्ने समेत बताए । राष्ट्रियसभा सदस्य समेत रहेका अपारले अहिले रेफर सेन्टरका रुपमा रहेको राप्ती प्रादेशिक अस्पताललाई स्तरबृद्धि, राप्ती बबई क्याम्पसलाई टियुको आंगिक क्याम्पसको रुपमा विकास गर्ने समेत बताए । त्यस्तै पातुखोला, ग्वारखोला करिडोरको काम अघि बढाउने बताए । त्यस्तै चमेरे गुफा, कल्ले, बल्ले थर्कोटलगायतका स्थानमा पुग्ने सडक स्तरबृद्धि गर्न समेत पहल थाल्ने बताए ।
त्यस्तै उनले दंगीशरण राजाले राज गरेको ठाउँ सकौराकोटमा थारु संग्रहालय बनाउन पहल थाल्ने बताए । ‘अहिले दंगीशरण राजाको नाममा चखौरामा संग्राहलय बनाएईको छ, खासमा त्यस्ता संग्राहलय सुकौरामा बनाउनु पर्नेहो’,उनले भने‘सुकौराको नामबाट भजाएर चखौरामा संग्राहलय बनाएको भन्दै त्यस्तो संग्राहलय सुकौरामा बनाउन पहल थाल्नुपर्छ ।’

दलाल पुँजिवादलाई माओवादीले धुलो चटाउछ
साथै उनले अब माओवादीले दलाल पुजिवादलाई धुलो चटाउने समेत बताए । उनले राजनीतिमा पहिलो पुस्ताले राणा फालेको, दोस्रो पुस्ताले पञ्चायत फालेको र तेस्रो पुस्ताले निरंकुश राजतन्त्र फालेको भन्दै अब चौथो पुस्ताले दलाल पुजिवादलाई धुलो चटाउने बताउने बताए । यसको नेतृत्व माओवादी केन्द्रले गर्ने उनको भनाई थियो ।
साथै उनले काँग्रेस, एमालेले भनेको भन्दा माओवादी केन्द्रले भनेको समाजवाद फरक रहेको समेत बताए । उनले माओवादीले भनेको प्रतिस्पर्धा, समावेशिता, नेपालिका बहुजातिय, धार्मिक, सांस्कृतिसहितको समाजवाद रहेको बताए ।साथै उनले माओवादीलाई अन्य पार्टीसंग तुलना समेत गर्न नसकिने बताए ।‘ माओवादी पार्टीकोे भिन्नै पहिचान छ । माओवादीलाई एमाले, काँग्रेस वा अन्य कुनै पार्टीसंग पनि तुलना गर्न मिल्दैन’,उनले भने‘ माओवादीको जन्म, माओवादीको पहिचान, पृष्ठभूमि फरक छ । अरुले राजालाई विन्तिभाउ चढाउदै गर्दा माओवादीले जीवन मरणको लडाई लडेर राजतन्त्र फाल्यो, धेरैले त्यतिबेला राजालाई फाल्न सकिदैन भन्थे, माओवादी शान्ति प्रक्रियामा आउछ भनेर कसैले पनि कल्पना गरेको थिएन, तर, शान्ति प्रक्रियामा आयो, संविधानसभाबाट संविधान बन्छ, भनेर कसैले पनि सोचेको थिएन, तर, हामीले संविधान बनायौं ।’
माओवादीको दृष्टिकोण, गन्तब्य, प्रतिबद्धता अरु पार्टी भन्दा फरक रहेको समेत उनको भनाई थियो । माओवादीमा अहिले धुलो मैलो लाग्यो भन्ने कुरा सत्य भएको भन्दै त्यसलाई टक्टक्याएर सफा पार्टी बन्ने समेत उनले बताए ।
उनले अहिले माओवादीकै एजेण्डामा मुलुक चलिरहेको समेत बताए । माओवादीले नै समाजवाद उन्मुख संविधान निर्माण गरेको भन्दै यसको कार्यान्वयनको पाटोलाई अगाडी बढाउनु पर्ने समेत बताए ।


कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश निर्वाचन कमिटीका संयोजक रामशरण चौधरी, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमीटी सदस्य रामबहादुर दहित‘अञ्जान’, माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार समितिका सदस्य सेशुराम भण्डारीलगायत नेताले सम्बोधन गर्नु भएको थियो ।
सम्मेलनबाट सहिद तथा अपांगता भएका सय भन्दा बढि परिवारलाई प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।
माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका सदस्य अमर नेपाली माईकलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिब तुलसी थापाले गरेका थिए ।