लुम्बिनी प्रदेशका मुख्यमन्त्री  चेतनारायण आचार्य बन्दै

दाङ,७ साउन ।
लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री  चेतनारायण आचार्य हुने भएका छन् ।
यसअघि दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने लुम्बिनी कांग्रेस–एमालेबीच सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशन आएकाले आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो ।

एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई बनाउन निर्देशन आएको बताए ।

‘यसअघि लिला गिरी नै मुख्यमन्त्री हुने भन्ने थियो,’ उनले भने, ‘केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुभयो । केन्द्रबाट जे निर्देशन आयो हामी त्यही पालना गर्छौं ।’ दिउँसो १ बजे लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनकहाँ दाबी पेस गर्न जाने उनले बताए ।


पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले केन्द्रीय पाटी अध्यक्ष केपी शर्मा ओलीले नयाँ मुख्यमन्त्रीमा आचार्यलाई बनाउन बिहान फोन आएको बताए । बिहानसम्म लीला गिरी नै मुख्यमन्त्री भन्ने थियो, भर्खरै मात्रै आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन आएको उनले बताए ।

अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।