
दीपक बोहरा
दाङ, २५ भदौ ।
दाङको दंगीशरण गाउँपालिका ३ चितानपुरकी एक छोरीले वुवालाई लगाएको बलात्कारको मुद्दाको हालै अदालतले फैसला गरेको छ । उच्च अदालत तुलसीपुरको बुधबार उक्त फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । सोही जस अनुसार सुरुमा एक १४ बर्षीया छोरीले वुवामाथि बलात्कारको मुद्दा लगाएकी छन् । उनले अनुसन्धानका क्रममा प्रहरी समक्ष बलात्कार भएकै बयान दिएकी छन् । तर, मुद्दा अदालतमा गएपछि भने वुवाले कपी, कलम नदिएपछि बलात्कारको मुद्दा लगाएको ति छोरीले बकपत्र गरेकी छन् । उनले आफ्नो वुवा निर्दोश रहेको समेत बयान दिइन ।
पहिलो श्रीमतीले दोस्रो विवाह गरेपछि आफ्ना बुबा, कान्छी आमा र भाइबहिनीहरूसँग बस्दै आएकी कक्षा १० मा ति बालिकाले बुबाको अत्यधिक मदिरा सेवन गर्ने, निरन्तर झगडा गर्ने र पढाइ खर्च तथा दैनिक आवश्यकता पूरा नगर्ने बानीबाट आजित भएपछि यस्तो आरोप लगाएर जाहेरी दिएको उनको बयान छ ।
२०८१ कार्तिक २९ गते बेलुकी घरमा विवाद भएपछि बुबाको रक्सी खाने लत र व्यवहार सुधार्ने उद्देश्यले यसरी प्रहरी समक्ष पुगेको उनले बताइन् । उद्यपी प्रहरी कार्यालयमा उनले हाडनातामा जबरजस्ती करणी उद्योगको अभियोगका रूपमा जाहेरी दरखास्त दिएकी थिइन । जसमा ३६ बर्षी बुवाले आफूलाई विगत ६/७ वर्षदेखि करणी गर्दै आएको र सोही दिन साँझ साढे ६ बजेतिर जबरजस्ती करणीको प्रयास गरेको भनी उल्लेख गरेकी थिइन ।
उनको शारीरिक परीक्षण प्रतिवेदनमा कुनै पनि घाउचोट वा चोटपटक नदेखिए तापनि सुरु अदालतको थुनछेक आदेशबाट बुबा २०८१ पुस ९ मा पूर्पक्षका लागि कारागार चलान भए । पछि अदालतमा उपस्थित भई पीडित बालिका तथा स्थानीय साक्षीहरूले बुबाले करणीको प्रयास नगरेको, ६/७ वर्षअघि बुबा भारतमा रहेको, र केवल रक्सीको लत छुटाउन तथा पढाइ खर्च माग्न प्रहरीकहाँ जाँदा सो जाहेरी लेखिएको भनी बकपत्र गरे ।
त्यसपछि २०८२ जेठ २७ मा वुवालाई सफाइ दियो । त्यसपछि उच्च सरकारी वकिल कार्यालय मार्फत पुनः अदालतमा मुद्दा पुनरावेदन गरियो । बालिकाले बयान फेरेपनि आफ्नो बुवालाई अनाहकमा आरोप लगाउन नसक्ने भन्दै ‘होसटाइल’ बकपत्र गरेको भनि सरकारी पक्षले नै पुनरावेदन गरेको थियो ।
तर, उच्च अदालत तुलसीपुरले पनि सरकारी पक्षको शङ्कारहित प्रमाण जुटाउन नसकेको र शङ्काको सुविधा अभियुक्तले पाउने फौजदारी न्यायको सिद्धान्त अनुसार सोही सफाइलाई सदर गरेर बुधबार पूर्ण सार्वजनिक गरेको हो ।



लाइभदाङ । २५ भाद्र २०८३, बिहीबार ११:३५ बजे