राप्ती प्रादेशिक अस्पतालमा कल्चर सेवा सुरु

दीपक बोहरा
दाङ, ६ साउन ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर ल्याब सेवा सुरु भएको छ । उक्त सेवाका आइतबार तत्कालिन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उनले अस्पतालमा सेवा संगै गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए ।“लुम्बिनीमा प्रदेश स्तरका दुई वटा अस्पताल रहेका छन्, एउटा लुम्बिनी र एउटा राप्ती, यी दुबै अस्पतालको स्तरबृद्धि हुनुपर्छ, म त्यसमै लागेँ”,उनले भने “सेवा विस्तारसंगै गुणस्तर सुधारमा लाग्नुपर्छ ।”

उनले अस्पतालमा कोभिडको बेलाको र प्रसुती सेवाका कर्मचारीले तलब समेत नपाएको अबस्थामा नीतिगत रुपमा त्यसलाई सल्टाएर समाधान गरेको समेत बताए । राप्ती प्रादेशिक अस्पताललाई दुई सय बेड बनाउनकालागि पनि फाईल पटक–पटक स्वास्थ्य मन्त्रालयबाट अघि बढेपनि बिभिन्न स्थानमा रोकिदा समस्या भएको भन्दै यसलाई तत्काल सल्टाउनु पर्ने समेत बताए ।

५२ लाखको लागतमा सामग्री जडान गरि सेवा सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । उनका अनुसार कल्चरबाट पिसाब, दिशा, रगतलगायतका जाँच हुनेछन् । यस अघि त्यो सेवा नहुँदा बाहिर जानुपर्ने बाध्यता थियो । अब भने त्यो अबस्था हट्ने छ ।

ल्याब पनि स्तानान्तरण
यस अघि ल्याब सेवा अस्पतालको कोलियाबाट प्रदान गर्नुपर्ने अबस्था थियो । अहिले भने दुई वटा कोठालाई मिलाएर सेवा प्रदान गर्न थालिएको छ ।


अब स्याम्पल दिने, रिपोर्ट लिने र सुधपुछ गर्ने फरक–फरक ठाउँबाट हुने छ । यस अघि यी कार्य एकै ठाउँबाट हुने गर्दा अफ्टेरो हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए ।