असईबाट अवकास लिएर ब्यवसायमा सक्रिय थापा

तुलसीपुर, ६ साउन ।
दाङ तुलसीपुर ४ निवासी जितबहादुर थापा अवकास प्राप्त शसस्त्र प्रहरीका असई हुन् । उनी २०७७ सालमा अवकास पछि आफ्नो ब्यबसाय गरिरहेका छन् । उनले तुलसीपुर ४ बायोखोलामा बंगुर, बाख्रा र कुखुरा पालन गरिरहेका छन् । “म प्रहरीबाट अवकास भएपछि आफैले व्यवसाय गर्नुपर्छ, भन्ने लाग्यो, त्यसैले पशुपालन सुरू गरेँ”,उनले भने “त्यसबाट आफ्नो खर्च चलिरहेको छ ।” उनले २५ वटा बंगुर, ४० वटा जति बाख्रा र एक हजार पाँचसय बढि ब्रोइलर कुखुरा पालन गरेको बताए । उनले बंगुरका बच्चा पनि विक्री गर्दै आएका छन् ।

करिब १० लाखको लागतमा उनले यसरी ब्यबसाय गरेका हुन् । स्थानीय स्तरमै स्वरोजगार बन्नु पर्ने भन्दै आफूले यस्तो कार्य सुरुवात गरेको बताए। “धेरै मान्छेहरु नेपालमा श्रम गर्न नमानेर विदेश जाने गर्छन्”,उनले भने “तर, नेपालमै परिश्रम गरे आम्दानी गर्न सकिन्छ, भन्ने उदाहरण दिन यस्तो कार्य सुरुवात गरेको हुँ ।”
उनले बार्षिक १५/२० लाख रुपैयाँ ब्यबसायबाटै आम्दानी गर्दै आएका छन् ।


२० बर्ष शसस्त्र प्रहरीमा रहेर सेवा गरेका उनी अवकास पछि पनि गाउँमा पनि सामाजिक सेवामा सक्रिय छन् । हरेक दुःख, सुख पर्दा समाजमा सक्रिय भएर लाग्ने गरेका छन् । उनी मुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत हुन् । “मैले जीवनमा सेवा गर्ने प्रणः गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”,उनले भने “अबकास पछि अब समाजमा जे अफ्टेरो पर्छ, त्यसमा एकाकार गर्नेछु ।”  प्रहरी सेवामा हुँदा पनि उनले आफ्नो छबि उच्च बनाएर अबकास लिएका हुन् । साभारः अग्रिम साप्ताहिक