बाढीपहिरोमा परी १२४ जनाको मृत्यु, १४० जना घाइते

काठमाडौँ, ३ साउन ।  अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २४ जनाको मृत्यु भएको हो । यस्तै काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ४० जना घाइते भएका छन् ।


घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १८ वटा घर, ८० वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८४ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ७ सय २ घर परिवार विस्थापित भएका छन् ।