घटेन बदर मत संख्या, मतदाता अलमलमा

दाङ, १२ पुष ।
निर्वाचनमा बदर मत घटाउन दाङमा स्थानीय तहमा कार्यरत स्वास्थ्य स्वयमसेविका, कर्मचारी समेत परिचालन गरी गाउँगाउँमा मतदाता शिक्षा प्रदान गरिएको भए पनि त्यसको फल देखिएको छैन । दाङमा २०७४ सालको आम निर्वाचनमा ५.९ प्रतिशत मत बदर भएकोमा २०७९ को आम निर्वाचनमा ५.९२ प्रतिशत मत बदर भएको छ । मत बदर हुनुको पछाडिको कारण अज्ञानता हो ।

राप्ती गाउँपालिका वडा नम्बर ६ का टिम्मल चौधरीले समानुपातिकको मत पत्रमा दुइवटा चिन्हमा स्वस्तिक छाप लगाएको बताउनुभयो । मतदान सकेर आउदै गर्दा बाटोमा भेट भएका साथीले दुईवटा चिन्हमा छाप लगाउनु हुँदैनथ्यो भन्दा मात्रै उहाँलाई आफूले दिएको मत बदर हुने भयो भन्ने लाग्यो ।

घोराही उपमहानगरपालिका–१३ का रामसुरज चौधरीले स्वस्तिक छापका ठाउँमा औंला छाप लगाउनु भयो । मतदान सकेर घरमा आएपछि छोराले हातमा मसी लागेको देखेर सोधखोज गर्दा उहाँले औंठा छाप लगाएको थाहा भयो । मतदान गर्ने तरिका नजान्दा वा तरिका नपु¥याउदा मत बदर धेरै भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –३ का गणेश थापाले पहिलो पटक मतदान गर्नुभयो । उहाँलाई चार वटा मतपत्र किन बनाइएको हो भन्ने कुरा थाहा थिएन । उहाँले अताल्लिएर प्रदेश सभाको मतपत्रमा दुई पटक छाप लगाएको बताउनु भयो । उम्मेदवारहरू चुनावी गीत बजाउँदै कुदे पनि मत हाल्ने तरिका बताउन उनीहरूले ध्यान नदिएको घोराही –६ का गीता शर्मा बताउनुहुन्छ । मतदाताको घरमा आएर मतदाता शिक्षाको बारेमा जानकारी नदिएको उहाँँको गुनासो छ । मतदान अधिकृतका गल्तिले गर्दा पनि मत बदर भएका छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ को बंगालाचुली गाउँपालिकामा रहेका केही मतदान केन्द्र र घोराहीका रहेका केही मतदान केन्द्रका ८८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर थिएन । मत गणना गर्दा तीे मत बदर गरिए । यसबारेमा सर्वदलीय बैठक बसेर सम्बन्धित मतदान अधिकृत माथि छानबिन गरी कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरी पठाइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताउनु भयो ।

यो पटक पनि संघ र प्रदेश सभाको मतदान एकै पटक भएकाले मतदातालाई चारवटा मतपत्रमा मतदान गर्ने तरिका बताउन धेरै समय लागेको कुरा मतदाता शिक्षा दिन खटिनु भएकी स्वास्थ्य स्वयंसेविका सिता अधिकारीले बताउनु भयो । “थोरै समयमा धेरै मतदातालाई शिक्षा दिनुपर्ने भएकाले सबैका घर घरमा पुग्न सकिएन । गाउँ घर, चौतारी, सार्वजनिक स्थलमा नागरिक भेला पारेर यसबारे बताएको उहाँले बताउनुभयो । “धेरै मत बदर भएको संख्या सुन्दा अचम्म लाग्यो”, उहाँँले भन्नुभयो ।

यस पटकको निर्वाचनमा पनि अघिल्लो निर्वाचनमा जस्तै प्रदेश सभा र प्रतिनिधि सभाका लागि चार वटा बेग्ला बेग्लै मत पत्रमा मतदान गर्नुपथ्र्यो । स्थानीय तहको निर्वाचनमा एउटा मात्र मतपत्र थियो । त्यसमा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य गरी लहरमा मतदान गर्नुपथ्र्यो । वडा सदस्यको लहरमा त धेरै ठाउँमा चिन्ह लगाउनु पथ्र्यो । अहिलेको निर्वाचनमा चारवटा मतपत्र भएकाले मतदता अलमलमा परेको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनु भयो ।

निर्वाचन आयोगले विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघ संस्थाका कर्मचारी र बालविकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको भए पनि यस पटक मतदाता शिक्षा दिन सिमित जनशक्ति खटाएपछि मत बदरको संख्या बढेको स्थानीयको आरोप छ । स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि गठबन्धन र तालमेल गरेकाले मतदाता शिक्षा विना मतदान गर्दा धेरैजसो मत बदर बढेको आम नागरिक बताउँछन् ।


लुम्बिनी प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीका अनुसार दाङ जिल्लाको २०७९ को सालको प्रतिनिधि सभा ५.९२ प्रतिशत मत बदर भएको छ । प्रदेश सभाको ४.७७ मत बदर भएको छ । प्रदेश सभा भन्दा प्रतिनिधि सभाको १.१५ प्रतिशत धेरै मत बदर भएको छ । धेरै मतपत्रमा औंठा छाप लगाएको र एक चिन्हमा मतदान गर्नु पर्नेमा दुई चिन्हमा मतदान गरेको भेटियो, उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा धेरै रोल्पामा ७.९२ प्रतिशत मत बदर भएको छ । सबैभन्दा कम पाल्पामा २.६६ प्रतिशत मत बदर भएको छ । धेरै मत वदर हुने जिल्लाहरूमा रोल्पा, बर्दिया, नवलपरासी पश्चिम, दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र प्युठान गरी ८ जिल्ला छन् ।

तालिका नं. १ : लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचनमा बदरमतको विवरण

स्रोत : लुम्बिनी प्रदेशका निर्वाचन कार्यालयहरू
लुम्बिनी प्रदेशमा प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक तर्फ ७.२३ प्रतिशत मत बदर भएको छ । निर्वाचनमा समानुपातिक तर्फ कुल खसेको २० लाख ३४ हजार १ सय ६ मत मध्ये १ लाख ४७ हजार २८ मत बदर भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

आम निर्वाचनमा २०७९ मा मत बदर हुनुमा पुराना पार्टी प्रति जनताको आक्रोशले जथाभावी मतदान गरेकाले मदर मत धेरै भएको नेकपा एमाले दाङ जिल्ला सचिव मनोहर बुढाथोकी बताउनु हुन्छ । निर्वाचन आयोगले मतदान शिक्षा नदिएका कारण बढी मत बदर भएको उहाँँको तर्क छ ।

नेपाली कांग्रेसका दाङ जिल्ला सभापती शंकर डाँगीले निर्वाचमा गठबन्धन भएका कारण असन्तुष्ट भएका कार्यकर्ताले एक भन्दा बढी चुनाव चिन्हमा मतदान गरेका कारण मत बदरको संख्या बढी भएको उहाँको अनुमान छ ।

२०७९ को आम निर्वाचनमा जनताको विद्रोह देखिएको हो । एउटा मतपत्रमा एकमात्र छाप लागउनु पर्नेमा दुइवटा चिन्हमा छाप लगाएकाले बदर मत संख्या धेरै भएको राजनीतिक जानकार धनीराम योगी बताउनु हुन्छ । उहाँ अगाडि थप्नुहुन्छ, मतदाता शिक्षा कर्मकाण्डी हुनु, मतदान स्थलमा कर्मचारीको कमी, चारवटा मतपत्रमा मतदान गर्नुपर्ने भएकाले मतदाता अलमलिएका हुन् । सामान्यतया निर्वाचन पूर्व प्रभावकारी मतदाता शिक्षाको अभाव, कर्मचारीको उदासिनता, राजनीतिक दलको अत्याधिक प्रचार जस्ता कुराले मतदाता अलमलमा परेकाले मत बदरको संख्या धेरै भएको उहाँको भनाइ छ ।