बाँसबाट जीवन बदल्ने सपना

तुल बहादुर कवँर मगर
सिसहनियाँ, २१ असार ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकाेटकी अनिष्मा ओली आजकाल बाँस काट्ने ,छिल्ने र विभिन्न किसिमका सामाग्री बनाउने कार्यमा व्यस्त हुनुहुन्छ।

केही दिन पहिले सम्म घाँस,दाउरा काट्ने र गाई बाख्राकाे गाेठालाे जादैमा दिन बिताउने उहाँ अहिले राप्ती गाउँपालिकाले उद्यमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाहरुलाई बाँसबाट फर्निचर बनाउने सीप विकास तालिम प्रदान गरेपछि उहाँको दिनचर्या नै बदलिएको हाे।

उहाँले तालिम पश्चात् सिकेको सीपलाई सदुपयोग गरि आत्मनिर्भर बन्ने बताउनुभयो। सीप भयो भने आफ्नै ठाउँमा भएको बाँसबाट पनि आम्दानी गर्न सकिदो रहेछ सोही तालिमका अर्का सहभागी बाेम बहादुर थापाले खुसी व्यक्त गर्दै भन्नुभयो-“हामी जस्ता बेरोजगार युवाहरूले अब सीप सिकेर गाउँघरमै व्यवसाय गर्ने साेच बनाएका छाैं।”

त्यस्तै उहाँले तालिमबाट धेरै कुराहरु सिक्ने अवसर मिलेकाले तालिमपश्चात् व्यवसायीक रुपमा सामूहिक उत्पादन सुरु गर्ने बताउनुभयाे। बजारमा अहिले माग भएका सामानहरू बनाउने भएकाले पनि व्यवसायीक रूपमाआफूहरू सफल हुने विश्वास थापाकाे छ।

ओली र थापा मात्रै हाेइन अहिले त्यस ठाउँका १५ जना युवा तथा महिलाहरुले साे तालिम लिई सामूहिक रुपमा व्यवसायीक बाँसको सामाग्री उत्पादनकाे तयारी गरेका छन्।


त्यसको लागि उनीहरूले रम्तेल श्रमिक सहकारी संस्था स्थापनाकाे तयारी समेत थालेका छन् । गाउँघरमा प्रशस्त पाइने बाँसबाट सामाग्री बनाउने सीप पाएपछि सहभागीहरु खुशी भएका छन्।

तालिमका क्रममा उनीहरूलाई मुढा,कुर्सी,टेबुल लगायतका विभिन्न सामान बनाउन सिकाइएको प्रशिक्षक रामकुमार राईले जानकारी दिनुभयाे । उहाँले सहभागीहरूमा सिक्ने उत्सुकता भएका कारण तालिम फलदायी भएको पनि बताउनुभयाे ।

‘राम्रोसँग बनाउन सकियो भने एकजनाले दैनिक २/३ हजारसम्म आम्दानी गर्न सकिन्छ’ प्रशिक्षक राईले भन्नुभयो । बाँसका सामग्रीको व्यवसायसमेत गर्दै आउनु भएका राईले पछिल्लो समय यस्ता वस्तुको माग बढेर गएको पनि बताउनुभयाे।

स्थानीय रूपमा पाइने वस्तुबाट विभिन्न सामग्री बनाउँदा एकातिर आत्मनिर्भर हुने र अर्कातिर परम्परागत सीपको पनि संरक्षण हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले सीप र प्रविधिको अभावका कारण खेर गइरहेका बाँसकाे सदुपयोग बाट निम्न आर्थिक आय भएका नागरिकहरुकाे जीवन स्तर बदलिने विश्वास व्यक्त गर्नुभयो ।

यस वर्ष गाउँपालिका मार्फत एक दर्जन बढी विभिन्न सीप विकास तालिम सञ्चालन गरिएको छ। सञ्चालन भएका तालिमका सहभागीहरूलाई व्यवसाय सञ्चालनका लागि पालिकाले प्राविधिक सहयोगसमेत गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभयाे ।