नवनिर्मित विद्यालय भवनको अध्यक्ष विष्टद्वारा उद्घाटन

तुल बहादुर कवँर मगर
भालुबाङ, १९ असार ।
दाङको राप्ती गाउँपालिका वडा नं.६ पत्थरगढवामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे पक्की भवनको बुधबार उद्घाटन गरिएको छ।

क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाको ८५ लाख १४ हजार ८७ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको हो। भवन उद्वाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले शैक्षिक गुणस्तर कायम गर्न भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले शिक्षा निस्शुल्क सँगसँगै गुणस्तरीय र व्यावहारिक हुनु पर्ने कुरामा जोड दिदै त्यसको लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले सरकारले गर्नुपर्ने काम संस्थाले गरेको भन्दै संस्थाको प्रशंसा गर्नुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीले शैक्षिक क्षेत्रको सुधारका लागि शिक्षक,विद्यार्थी र अभिभावकहरुको त्रिपक्षीय सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष भिम बहादुर चौधरीले भवन निर्माण कार्यको खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाका कार्यकारी निर्देशक दिनेशराज सापकोटा नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो।

शिक्षक अभिभावक संघकी संयोजक सर्मिला चौधरीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नं.६ का कार्यवाहक वडा अध्यक्ष गीता कुमारी चौधरी,शिक्षा शाखा प्रमुख विश्वास विक,क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालका कार्यकारी निर्देशक दिनेशराज सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयकी शिक्षिका बसन्ती चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक हर्क बहादुर चौधरीले गर्नु भएको थियो ।