हामीलाई प्रधानमन्त्री चाहिएको छैन, गठबन्धन ०८४ पछिसम्म जान्छ : महासचिब पोख्रेल 

दीपक बोहरा
दाङ, ८ असार ।
नेकपा(एमाले) महासचिब शंकर पोखरेलले एमाले आलोपालो प्रधानमन्त्रीको पक्षमा नरहेको बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ हस्नापुरमा निर्माण गरिएको श्रीमणी आचार्यको सालिक अनाबरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिब पोख्रेलले एमालेलाई प्रधानमन्त्री नचाहिएको बताए ।“हामीलाई प्रधानमन्त्री चाहिया छैन, धेरैले आलोपालो प्रधानमन्त्रीको कुरा गर्दैछन्”,उनले भने“ हामी यो समीकरणलाई आउने चुनाबसम्म कायम राख्न चहान्छौं, त्यो भन्दा पछि पनि जान सक्छ ।”

साथै महासचिब पोख्रेलले शंकटमा सबै राजनीतिक दलहरु एक ठाउँमा आएको इतिहास समेत रहेको समेत बताए । तर, त्यसमा राजनीतिक दलहरुले विश्वासको वातावरण बनाउनु पर्ने महासचिब पोख्रेलको भनाई थियो । काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले संसदको पहिलो र दोस्रो दल एक हुनुपर्ने धारणाप्रति लक्षित गर्दै महासचिब पोख्रेलले अहिले तत्काल समीकरण परिबर्तन गर्न नसकिने तर्क गरेका हुन् ।“ शंकटका बेला सबै राजनीतिक दलहरु मिलेको इतिहास पनि छ, तर, सरकार निर्माणको सन्दर्भमा कसैको पनि एकल बहुमत नभएकाले हामीले सरकार निर्माणको समीकरणकालागि खुल्ला गरेका थियौं”,उहाँले भन्नुभयो“तर, त्यो बेला काँग्रेसले त्यो कुरा अस्वीकार ग¥यो, त्यसकारण राजनीतिमा विश्वासको वातावरण हुनुपर्छ ।”

मुख्य नेतृत्वले दृष्टिकोण नबनाउदा तलबाट कुरा गरेर कुनै सम्भव नहुँने भन्दै मुख्य नेतृत्वले नै दृष्टिकोण निर्माणकालागि सहजीकरण गर्नुपर्ने समेत महासचिब पोख्रेलको भनाई थियो ।

साथै उहाँले राजनीतिमा स्वतन्त्रको कुनै अर्थ नरहने समेत बताए ।“कुनै पनि क्षेत्रमा चर्चा कमाउन लागेको हुन्छ, त्यसपछि सिधै राजनीतिमा आउन खोज्छ”,उनले भने“राजनीतिमा त्याग, तपस्या हुन्छ, राजनीति बुझेर मात्रै राजनीतिमा आए मात्रै टिकाउ हुन्छ ।”


साथै उनले टरिगाउँ एयरपोर्टलाई अब १५ सय मिटर धावन मार्ग विस्तार हुने कुरामा ढुक्क रहन सबैमा आग्रह गरे ।‘काँग्रेसकै पर्यटनमन्त्री हुँदा टरिगाउँ एयरपोर्ट विस्तार गर्न सकिदैन, बरु नारायणपुर बनाउनुपर्छ भन्ने प्रतिवेदन बनेको थियो”,उनले भने“त्यसपछि नारायणपुर बनाउनकालागि पहल भएपनि त्यहाँका बासिन्दाले एयरपोर्ट बनाउन नदिएपछि अब उत्तर–दक्षिण बनाएर टरिगाउँ एयरपोर्ट नै विस्तार हुन्छ ।” टरिगाउँलाई नै विस्तार गर्ने भएपछि अहिले कति बजेट आउने भन्ने कुराको भन्दा पनि क्यानले नै बनाउने भएकाले त्यसमा कुनै शंका नहुँने समेत उनको भनाई थियो ।

साथै चारलेन सडक निर्माणकालागि पनि सम्भाब्यता अध्ययनको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । संविधानलाई परिबर्तन तथा राजनीतिक स्थायित्वकालागि पहिलो र दोस्रो पार्टी मिल्नु पर्ने काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले बताए ।

कार्यक्रममा सहभागि अन्य बक्ताहरुले श्रीमणी आचार्यले शैक्षिक तथा राजनीतिक क्षेत्रमा दिएको सन्देशलाई सबैले अनुसरन गर्नुपर्ने बताएका थिए । बक्ताहरुले राजनीतिक दलहरुबीचको सम्बन्ध, सहअस्तित्वलाई स्वीकार गरि सहकार्यको भावनामा अगाडी बढ्नु पर्ने बताएका थिए ।

शालिक राखिएको स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नकालागि पार्क निर्माण गर्ने योजना रहेको छ । सोही ठाउँमा श्रीमणी आचार्यले नै खानेपानी ल्याएको भन्दै सालिक खानेपानी समितिको जग्गामा सालिक निर्माण गरिएको हो । सोही ठाउँमा पार्क निर्माणकालानगि १ करोड ५३ लाख रुपैँया बजेट समेत बिनियोजन भएको छ ।