मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनः जागृत गर्न आह्वान

बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनः जागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले समाज सेवाको भावना हराउँदै जाँदा मानवीय सेवा समेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गर्नुभयो ।

`समाज सेवाको भावना कता–कता हराउँदै गइरहेको छ । आदर–सम्मानको भावना पनि कता–कता हराउँदै गइरहेको छ´ उहाँले भन्नुभयो, `हामीले यसलाई जबसम्म पुनः स्थापित गर्न सक्दैनौं, तबसम्म हामीमा रहने नैतिकता, आचरण र सद्भावका कुराहरू करिब–करिब मेटिँदै जान थालेका छन् ।´

मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनः स्थापित गर्न जोड दिनुभयो । साथै, विद्यालय–केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पु¥याउनुपर्नेमा पनि उहाँले आह्वान गर्नुभयो ।


उहाँले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी सरकारले विपद्‌ प्रतिकार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, सवारी दुर्घटना लगायतका विपद्‌बाट प्रदेशलाई सुरक्षित बनाउने रणनीतिअन्तर्गत सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको उहाँको भनाइ थियो ।

`विपद्‌अघि, विपद्‌को बेलामा र विपद्‌पछि पनि रेडक्रसको साथ रहने भएकाले यसको भूमिका अझ महत्वपूर्ण छ,´ मुख्यमन्त्री आचार्यले स्मरण गराउनुभयो । रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रेडक्रम अभियानकर्मि, जनप्रतिनिधि लगायतकाे सहभागीता थियाे ।