संस्कृत विश्वविद्यालयका कुलसचिबको कुर्सी जलाइयो

दीपक बोहरा
दाङ, २ असार ।
नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठका विद्यार्थीहरुले कुलसचिब माधव अधिकारीको कुर्सी जलाएका छन् ।

आईतबार आयुर्वेदमा स्नातक (विएएमएस)का विद्यार्थीहरुले आफूहरुले राखेका बिभिन्न मागमा कुनै सुनुवाई नगरेको भन्दै केन्द्रीय कार्यालय र डीनको कार्यालयमा तालाबन्दी समेत गरिएको अखिल क्रान्तिकारीका राष्ट्रिय कमिटि प्रमुख सचिब अभयप्रताप चौवेले बताए । साथै कुलसचिबको पुत्ला समेत दहन गरिएको उनको भनाई छ ।

उनीहरुले करार शिक्षकको करार अबधी थप हुनुपर्ने, चिकित्सा आयोगको न्यूनतम मापदण्ड अनुसार तत्काल अस्पताल निर्माण गर्नुपर्ने, ओ एण्ड एम सर्भे गरि जनशक्ति नियुक्त गर्नुपर्नेलगायतका माग राखेर आन्दोलित बनेका छन् ।


छात्रबृतिमा अध्ययनरत विद्यार्थीहरु ‘इन्टर्न’ भत्ताको तत्काल व्यबस्था गर्नुपर्ने, कुलसचिबको अगुवाइमा विविध भवन निर्माण, बोटानिकल गार्डेन र अन्य विबिध पक्षमा आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार भएकाले विद्यार्थीहरुले विरोध जनाएका हुन् ।

साथै कुलसचिबले तत्काल राजीनामा दिनुपर्ने उनीहरुको माग छ । नेविसंघका विद्यापीठ सभापति डा. बसन्त अधिकारी, अखिल क्रान्तिकारी विद्यापीठका अध्यक्ष गणेश पौडेल र प्रमुख सचिब चौवेले विज्ञप्ति जारी गरि अनिश्चित कालकालागि तालाबन्दी गरिएको बताए ।