एसइईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं, २ असार ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार दोस्रो साता प्रकाशन गर्ने गरी गृहकार्य अघि बढाएको छ । परीक्षा लिएको मितिअनुसार दोस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने तयारी भएको बोर्डले जनाएको छ । १५ चैतदेखि सुरु भएको एसइईमा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा दिएका थिए ।

क्यालेन्डरमा असार तेस्रो सातासम्म नतिजा प्रकाशन गर्नुपर्ने उल्लेख छ । तर, पूर्वतयारी छिटो भएकाले क्यालेन्डरमा उल्लेख गरिएभन्दा छिटो नतिजा प्रकाशन गर्न लागेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । ‘क्यालेन्डरअनुसार एसइईको नतिजा असार तेस्रो साताभित्र निकाल्नुपर्ने हो, तर हामीले त्योभन्दा छिटो गर्छौँ, दोस्रो साताभित्र नतिजा ल्याउने तयारीमा छौँ,’ उनले भने, ‘कक्षा १२ को नतिजा पनि तेस्रो साता प्रकाशन हुन्छ ।’

गत वर्ष पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन भए पनि यो वर्ष भने लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रकाशन हुने उनले बताए । चैत २७ सम्म सञ्चालन भएको परीक्षाका उत्तरपुस्तिका परीक्षण देशभर ६० वटा परीक्षण केन्द्रमा भइरहेको छ । उत्तरपुस्तिका परीक्षण करिब सकिएर नतिजा सिस्टममा अध्यावधिक गर्ने कार्य भइरहेको बोर्डले जनाएको छ । प्राविधिक काम जति छिटो सकियो त्यति नै छिटो नतिजा प्रकाशन गर्ने तयारी छ ।


फरक प्रणाली उत्तीर्ण संख्या घट्न सक्ने
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक परीक्षाको नतिजाको प्रणाली फरक छ । विद्यार्थीले हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । योभन्दा कम प्रतिशत अंक ल्याए अनुत्तीर्ण मानिनेछ । गत वर्षभन्दा फरक शैलीले परीक्षाफल प्रकाशन हुने भएकाले नतिजामा पनि फेरबदल आउने बोर्डले जनाएको छ । यसपटक एसइईमा उत्तीर्ण हुने विद्यार्थीको संख्या घट्ने अनुमान गरिएको छ ।

विगतका वर्षहरूमा नतिजाका आधारमा विद्यार्थीले कक्षा ११ मा फरक–फरक विषय पढ्न पाउँथे । विभिन्न संकायहरूले एसइईमा आएको अंकलाई आधार मानेर विद्यार्थी भर्ना गर्ने गर्दथे । तर, यसपटक कुनै पनि विषयमा कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । त्यस्तै, बोर्डले प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरेको छ । बोर्डका अध्यक्ष शर्माका अनुसार प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ । अन्यथा अनुत्तीर्ण भएको विषयमा विद्यार्थीले पूरक परीक्षा दिनुपर्नेछ ।

कक्षा १२ को नतिजा असार तेस्रो सातासम्म
परीक्षा बोर्डले एसइईको नतिजा प्रकाशनलगत्तै कक्षा १२ को पनि नतिजा प्रकाशन गर्ने तयारी थालेको छ । कक्षा १२ मा यसपटक ग्रेडवृद्धिसहित पाँच लाख विद्यार्थीले परीक्षा दिएका थिए । नतिजा प्रकाशनमा ढिलाइ गर्दा विद्यार्थीलाई असर परेको भन्दै शिक्षा मन्त्रालयले तेस्रो साताभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । क्यालेन्डरअनुसार चौथो साताभित्र नतिजा प्रकाशन गर्नुपर्ने भए पनि बोर्डले त्यसभन्दा पनि छिटो नतिजा प्रकाशनको तयारी गरेको छ । ढिलो नतिजा प्रकाशन गर्दा कक्षा १२ पछि विदेश जाने विद्यार्थीको संख्या बढ्ने, यहाँको पढाइप्रति वितृष्णा पैदा हुनेलगायत समस्या देखिने भएकाले मन्त्रालयले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएको हो ।