राप्ती गाउँपालिकाद्वारा मकै पोल्ने तालिम सँगै प्रविधि हस्तान्तरण

तुल बहादुर कवँर मगर
देउखुरी, १ असार।
दाङको राप्ती गाउँपालिकाले व्यावसाय गर्न चाहाने व्यक्तिहरुलाई मकै पोल्ने र मकैको चटपट बनाउने तालिम सँगै प्रविधि हस्तान्तरण गरेको छ।

गाउँपालिकाले साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम अन्तर्गत सो तालिम सँगै प्रविधि हस्तान्तरण गरेको हो।

राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिर बहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीको विशिष्ट आतिथ्यतामा मौरीघाटमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले विपन्न र समुदायमा बसेर केही गर्न खोज्ने नागरिकलाई तालिम सँगै प्रविधि सहयोग गरि स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले रहेको बताउनुभयो ।


‘विपन्न र समुदायमा बसेर केही गर्न खोज्ने नागरिकलाई मकै पोल्ने र यसको चटपटे बनाउने मेशिन दिएका छौं, यो मेशिनले दिनभर थोरै दाउराबाट धेरै मकै पोल्न र उसिन्न सकिन्छ ।अन्य परिकार पनि बनाउन सकिन्छ, अर्गानिक खाजा बनाएर जंकफूड निस्तेज पार्ने पालिकाको दीर्घकालीन योजना हो’,अध्यक्ष विष्टले भन्नुभयो, ‘भालुवाङदेखि सिसहनियाँसम्म धेरै स्थानीयले यो तालिमबाट जीविकोपार्जन गर्नसक्ने अपेक्षा लिएका छौं, हाम्रो सानो सहयोगबाट विपन्न नागरिकलाई ठूलो आधार हुनसक्ने र स्थानीय उत्पादनलाई साथ दिने मुख्य उद्देश्यले यो कार्यक्रम थालेका हौं ।’

त्यस्तै अध्यक्ष विष्टले कृषि क्षेत्रलाई यहाँको समृद्धिको मुख्य आधार मानेर यसका सहायक पक्षलाई बलियो बनाउन थालिएको समेत बताउनुभयो ।

गाउँपालिकाले गत महिना सो तालिमको लागि आवेदन माग गरेको थियो ।सोही अवधिमा प्राप्त भएका ५ जना व्यक्तिहरुलाई तालिम सहित प्रविधि हस्तान्तरण गरेको हो। पूर्वपश्चिम राजमार्ग र लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा रहेको यो पालिका मकै सुपर जोनको रुपमा रहेको छ ।