
घोराही, ७ मंसिर ।
घोराही–१६ सानी अम्वापुरमा रहेको राप्ती इञ्जिनियरिङ कलेजले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको छ । विइ सिभिल, विइ कम्प्युटर, विसीए र विविएका विद्यार्थीहरुलाई स्वागत गर्नका लागि कार्यक्रम आयोजना गरिएको थियो ।
विद्यार्थी नेपाल बैद्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका उप प्रमुख हुमा डिसीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै डिसीले राप्ती इञ्जिनियरिङ कलेजले शिक्षाको क्षेत्रमा उल्लेखनिय योगदान गरेको बताउनुभयो । उहाँले कुनै बेला इञ्जिनियरिङ पढ्नु भनेको निकै गाह्रो कुरा रहेको भन्दै अहिले त्यसलाई सहज बनाउने काम राप्ती इञ्जिनियरिङले गरेको बताउनुभयो ।
उहाँले कितावी ज्ञानसंगै व्यवहारिक ज्ञान पनि दिन आवश्यक रहेको बताउनुभयो । कितावी ज्ञानमा इञ्जिनियरिङ जानेर मात्रै हुँदैन भन्दै इञ्जिनियरिङ भनेको कितावी ज्ञान संगै व्यवहारिक रुपमा सफल हुनुपर्ने बताउनुभयो । उहाँले अहिले राम्रा इञ्जिनियरहरु देशका लागि आवश्यक रहेको भन्दै राज्यले गर्नुपर्ने काममा नीजि क्षेत्रले योगदान गरिरहेको बताउनुभयो ।
उहाँले नेपालमा मात्रै होइन विश्वभर नै इञ्जिनियरहरुको राम्रो भविश्य रहेको बताउनुभयो । उहाँले आफ्नो माटोलाई चिन्नुपर्ने, आफ्नो माटोले के मागिरहेको छ त्यो कुरा थाहा पाउनुपर्ने भन्दै सोही अनुसार शिक्षा लिन आग्रह गर्नुभयो । अहिले १२ कक्षा पास गरेपछि विदेश ताक्नेहरुको संख्या बढीरहेको भन्दै नेपालमा बसेर नेपालमै सेवा गर्ने बारेमा सोच्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा राप्ती इञ्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र विक्रम गिरीले १८ बर्षको अवधिका उतार चढावका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले अहिले कलेजसंग नौ वटा कार्यक्रम रहेको भन्दै पहिले देखि संचालनमा रहेका कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन भएको बताउनुभयो । उहाँले नेपालमा पनि विदेशीले पत्याउने खालको जनशक्ति उत्पादन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । यसका लागि राप्ती इञ्जिनियरिङ कलेज लागिरहेको धारणा पनि उहाँको थियो ।
कार्यक्रममा राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, पूर्व विद्यार्थी समाजका अध्यक्ष राजाराम चौधरी, कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरी, प्रवन्धक मधुसूदन बैद्य, कलेजका प्रिन्सीपल रेशम गिरी लगायतले बोल्नुभएको थियो ।
कलेजका विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई स्वागत विद्यार्थी प्रविण चौधरीले गर्नुभएको थियो ।



लाइभदाङ । ८ मंसिर २०८२, आईतवार १५:१३ बजे