प्रिया स्मृती गजमेर
लमही, २५ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले जल जमिन र जंगलको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताउनु भएको छ ।
विश्व वातावरण दिवसका अवसरमा लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपतबाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताउनु भयो ।
त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न सबै निकाय लाग्नु पर्ने बताउनु भयो । घरवरिपरि रहेको वातावरण सुधार गर्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाउनुपर्ने भन्दै नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्नुपर्ने उपप्रमुख योगीको धारणा छ ।
डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल वन अधिकृत राजु क्षेत्रीले वातावरण दिवसकै दिन सांकेतिकरुपमा बुधवार जैविक विविधता ग्रिनपार्कको विभिन्न ठाउँमा वृक्षारोपन गरी त्यसको सुरुवात गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘वन विभागको मुख्य काम नै वातावरण जोगाउने हो र वन जागाउने भनेको नै वातावरण जोगाउने हो ।
विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी बुधवार मनाइएको छ । हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय, लमही नगरपालिका एवम् डिभिजन वन कार्यालय दाङ (देउखुरी)को संयुक्त आयोजनामा लमहीमा जनचेतनामुलक र्याली निकालिएको थियो ।
र्यालीमा सहभागीहरुले जथाभावी फोहर नफालौ, सभ्य नगरिकको परिचयन दिऔं, वातावरण जोगाऔं लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल वन अधिकृत राजु क्षेत्रीले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो भने लमही नगरपालिका विपद् शाखा प्रमुख गायत्री थापाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।
लाइभदाङ । २५ जेष्ठ २०८१, शुक्रबार ०७:५३ बजे