राप्तीमा निर्माण व्यवसायी र श्रमिकहरूको हकहितका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

तुल बहादुर कवँर मगर
सिसहनियाँ, २५ पुस।
दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबार स्थानीय निर्माण व्यवसायी तथा श्रमिकहरूको हकहितका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अखिल नेपाल निर्माण मजदुर संघ दाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा श्रमिकहरूको सामाजिक सुरक्षा र अधिकारका विषयमा छलफल भएको थियो।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले श्रमिकहरूको हितका लागि पालिकाले श्रमिक सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले यसै वर्षदेखि कार्यक्रम लागू गर्ने योजना रहेको र उक्त कोषले स्वास्थ्य जोखिम तथा आकस्मिक घटनाहरूमा थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले श्रमिकहरूको जीवनस्तर उकास्न र सामाजिक सुरक्षालाई मजबुत बनाउन पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।


कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले,पूर्व वडा अध्यक्ष जगत थापा, वडा नम्बर ८ का पूर्व अध्यक्ष गोकर्ण बहादुर राना मगर, संघका सल्लाहकार बसन्त नेपाली, लालमटिया बृहत् खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कृष्ण गिरी लगायत मजदुर संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संघका सचिव हरि बहादुर मल्लले गर्नुभएको थियो।

यस अन्तरक्रिया कार्यक्रमले स्थानीय निर्माण व्यवसायी र श्रमिकहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। सहभागीहरूले श्रमिकहरूको सामाजिक सुरक्षा र अधिकारका विषयमा जनप्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी व्यक्त गरेका छन्।